कोरोना भाइरस संक्रमणको जोखिमसँगै जारी निषेधाज्ञालाई केही खुकुलो बनाएसँगै बुधबार खुलेका बैंक तथा वित्तिय संस्थामा सर्वसाधारणको भिड देखिएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले थप एक साता लकडाउन गर्ने निर्णयसँगै सातामा दुई दिन वित्तिय संस्था खोल्ने निर्णय गरेसँगै बुधबार सदरमुकाम बेनी सहित स्थानीय तहमा रहेका वित्तिय संस्थामा सर्वसाधारणको भिड देखिएको छ ।

सदरमुकाम बेनीमा रहेका बैक तथा वित्तिय संस्था बाहिर सर्वसाधारण लामबद्ध छन् । गएको बैशाख २३ गतेदेखि जारी निषेधाज्ञाको अवधिमा आर्थिक कारोबार बन्द भएकाले सहरबजार देखि ग्रामिण क्षेत्रबाट समेत सर्वसाधारण कारोबारका लागि आएको गरिमा विकास बैंक बेनी शाखाका प्रमुख कमलप्रसाद ढुंगानाले बताउनुभयो ।

‘कोरोनाको जोखिमलाई मध्यनजर गरी कारोबारलाई ब्यवस्थित गरेका छौ,‘भौतिक दुरी कायम गरी सेवा प्रवाहको प्रयास भइरहेको छ’ प्रबन्धक ढुंगानाले भन्नुभयो । सदरमुकाम बेनीमा रहेका सबैजसो वित्तिय संस्थामा सर्वसाधारणको भिडभाड बढेसँगै बजारमा चहलपहल देखिएको छ । सुनासान बेनीबजारमा चहलपहलसँगै सवारीसाधनको चाप समेत देखिएको छ ।

जिल्लामा कोरोना संक्रमितको दर बढ्दै गएपछि जेठ २४ गतेसम्मका लागि लकडाउन थप गरिएकोमा खाद्यान्न तथा तरकारी लगायतका कृषि औजार र विउविजनका पसलहरु विहान ५ बजेदखि १० बजेसम्म खुल्ने र वित्तिय संस्था आईतबार र बुधबार विहान १० बजेदेखि २ बजेसम्म खुल्ने निर्णय भएको थियो ।

Leave a Reply