नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीले “आपतकालीन कोष” स्थापना गरेको छ ।शाखा अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा बुधबार बेनी स्थित महासंघको कार्यालयमा बसेको बैठकले प्राकृतिक प्रकोप, दुर्घटना, महामारी र जटिल रोगबाट प्रभावित पत्रकारहरुलाई सघाउने उद्देश्यले कोष स्थापना गरेको हो ।

स्थापना भएकै दिन बैठकमा सहभागी शाखाका पदाधीकारी, सदस्य र सल्लाहकारहरुबाट कोषमा एक लाख रुपैयाँ भन्दा बढी सहयोग प्राप्त भएको कोषाध्यक्ष अमित विश्वकर्माले जानकारी दिनुभयो ।

“पत्रकारका लागि पत्रकारहरुकै सहभागीतामा कोष स्थापना गरिएको हो,” शाखा अध्यक्ष पौडेलले भन्नुभयो “कोषको रकम बढाउदै लैजाने र ब्याजबाट आवश्यकताका आधारमा कार्यबिधी अनुसार पत्रकारहरुलाई सहयोग गर्छौ ।”

कोष परिचालन र सञ्चालन सम्बन्धी कार्यबिधी तयार पार्न शाखाका सचिब सन्तोष गौतम, सहसचिव प्रमोद शर्मा र सदस्य सुदर्शनकुमार श्रेष्ठलाई जिम्मेवारी तोकिएको छ । आगामी बैठकमा कार्यबिधीको मस्यौदा पेश गरिने सचिव गौतमले बताउनुभयो ।

विपद्, दुर्घटना, महामारी र जटिल रोगबाट प्रभावित हुने पत्रकारलाई आकस्मिक रुपमा बिशेष गरि स्वास्थ्य उपचारमा सहयोग गर्ने उद्देश्यले कोष स्थापना गरिएको अध्यक्ष पौडेलले बताउनुभयो ।

म्याग्दीमा पत्रकार महासंघका ६२ जना सदस्य छन् । शाखाका उपाध्यक्ष हरिकृष्ण गौतमले नयाँ कार्यसमितिको अल्पकालिन र दिर्घकालिन कार्ययोजना अनुसार पहिलो चरणमा आपतकालिन कोष स्थापना भएको बताउनुभयो ।

बेनीमा मिडिया सेन्टर सञ्चालनको तयारी गरेको महासंघले बेनी नगरपालिकाले भाडामा उपलब्ध गराएको चार आना जग्गामा भवन निर्माणका लागि आर्थिक स्रोत जुटाउन प्रक्रिया अघि बढाएको छ । पत्रकारहरुको पेशागत सुरक्षा, क्षमता र सिप बिकासका लागि तालिम सञ्चालन गर्ने, हितकोष स्थापना र पत्रकारिता पुरस्कारको अक्षषकोष बनाउने योजना बनाएको छ ।

Leave a Reply