खुट्टामा घाउ भएपछि बेनी अस्पतालमा भर्ना भएका बेनी नगरपालिका–६,डम्बराका ५५ बर्षिय एक मधुमेहका बिरामीको अचानक मुटुको चाल बन्द भयो । विगत १० दिनदेखि अस्पतालमा उपचारार्थ खत्रीको मधुमेहकै कारण खुट्टा बिग्रेपछि शल्यक्रियापछि स्वास्थ्यमा क्रमिक सुधार भइरहेको थियो ।

नियमित चेकजाँचको क्रममा डा.नवराज बस्ताकोटीले बिरामीको मुटुको चाल अचानक बन्द भएको देखेपछि स्वास्थ्यकर्मीको सहयोगमा करिब ८ मिटर सिपिआरको माध्यमबाट काम गर्न छोडेको मुटुलाई जगाउन सफल हुनुभयो ।

दोस्रोपटक करिब ३० सेकेण्ड मुटुको चाल बन्द भएपछि डा. बस्ताकोटी, डा.डालिम काफ्ले सहित स्वास्थ्यकर्मीको टोलीले १६ मिनेट सिपिआर विधिबाट पुनः होस फर्काउने कार्यमा सफलता मिल्यो ।

बिरामीको अवस्थालाई हेर्दा बाँच्ने आस मारिसकेको अवस्थामा समेत चमत्कारी सुधार भएको डा. बस्ताकोटीले बताउनुभयो । ‘दुई पटक मुटुको चाल बन्द भयो, पहिलोपटक सुधार भएपछि दोस्रोपटक झन जटिल समस्या देखिएपछि आस मारेपनि जगाउने प्रयास गरियो’डा.बस्ताकोटीले भन्नुभयो । उहाँका अनुसार बिरामीमा चमत्कारी सुधार आएको छ।

मधुमेहका बिरामीको हातखुट्टामा चोपटक लागेमा वा घाउ भए निको हुन समस्या हुने र हेलचेक्राई गरिए काटेर फाल्नुपर्ने अवस्था आउने भएकाले बिरामीले आफ्नो शरीरको ख्याल नगर्दा समस्या झन् जटिल भएको उपचारमा संलग्न अर्का डा. काफ्लेको भनाई छ । ‘भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ, अहिले श्वासप्रश्वासमा राम्रो सुधार देखिएको छ’ डा. काफ्लेले भन्नुभयो ।

मधुमेहका बिरामीको मुटुको चालमा समेत खराबी हुनु मृत्युको मुखमा पुगेजस्तै भएको डा. काफ्लेको भनाई छ । अचानक बेहोस भएर ढलेका बिरामीहरूलाई तत्कालै सिपिआर विधिबाट उपचारको आवश्यकता पर्ने भएकाले सर्वसाधारणलाई समेत उक्त विधिका बारेमा जानकारी हुन आवश्यक छ ।

अचानक बेहोस हुने बिरामीको उपचारमा ढिलाई भए मस्तिष्कघात, मिर्गौला लगायतका शरीरका महत्वपूर्ण अंग समेत ड्यामेज हुन सक्ने भएपनि अस्पतालमा उपचारार्थ बिरामीमा उक्त समस्या नदेखिएको चिकित्सकको भनाई छ ।

अस्पतालमा रहेका सघन उपचार कक्ष आइसियू जनशक्तीको अभावका कारण बन्द भएको अवस्थामा तत्कालै विरामी भर्ना हुने बेडमा ल्याएर सेटअफ गरी उपचार गरिएको अस्पताल ब्यवस्थापन समितिले जनाएको छ ।

के हो ’सीपीआर’ विधि ?
बेनी अस्पतालमा मुटुको चालमा खरावी भएर आउने बिरामीको संख्या बढिरहेको छ । प्रेसर र सुगरका बिरामीको समस्या बढ्दै गएको अवस्थामा अचानक मुटुको चाल नै बन्द भएको अवस्थाका बिरामीलाई अन्य विधिको उपचार अगाडी चिकित्सकले सीपीआर विधिलाई नै प्रयोग गर्छन् ।

अचानक मुटुको चाल बन्द भएपछि बेहोस भएर वा ढलेका बिरामीको लागि सबभन्दा राम्रो उपचार भनेको नै ’सीपीआर’। अचानक बेहोस भएर ढलेकाहरूको मुटुको चाल बन्द भएको हुन्छ ।

सिपिआर विधि बाहेक अन्य विधिका ध्यान दिदाँ बिरामीको मृत्यु भएसकेको हुनसक्ने भएकाले यसलाई मुटुको चाल बन्द हुदाँ गरिने सबैभन्दा महत्वपूर्ण र आकस्मिक उपचारका रुपमा समेत लिने गरिन्छ । त्यसलाई विचार गरेर अस्पताल पु¥याउनु भन्दा पहिले ढलेकै ठाउँमा सुताएर बिरामीको छाती थिच्नुपर्छ ।

बिरामी ढलेकै ठाउँमा सुताएर छाती थिच्ने अभ्यास गरेमा शरीरमा अन्य जोखिम निम्तिने खतरा कम हुने बेनी अस्पतालका डा. बस्ताकोटीको भनाई छ ।

स्वास्थ्य संस्था भित्र अचानक मुटुको चाल बन्द भएको अवस्थामा सीपीआर विधि अपनाएर बन्द मुटुलाई पहिलेकै अवस्थामा फर्काउने सम्भावना धेरै हुन्छ ।

हृदयघात भएर ढलेका बिरामीको मुटुलाई पनि यो उपचार विधिबाट पूर्ववत् अवस्थामा फर्काउन सकिने भएकाले यसका बारेमा थप जानकारी दिने डा. बास्ताकोटीको योजना छ ।

शरीरमा रक्तसञ्चार भएर बिरामीको ज्यान जोगिने विधि भएकाले यस बारेमा सन्देश फैलाउने डा. बस्ताकोटीले बताउनुभयो । सहरबजार देखि ग्रामिण क्षेत्रमा समेत अचेत भएका बिरामीलाई मुटुको चाल सुनेर तत्काल यो विधि अपनाउनुभन्दा हतार हतार स्वास्थ्य संस्थामा लैजाँदा ज्यानै जाने गरेको छ ।

Leave a Reply