कोरोना संक्रमणको उच्च जोखिममा रहेका शिक्षकलाई खोपको ब्यवस्था गर्न नेपाल शिक्षक महासंघ म्याग्दीले माग गरेको छ ।

गतबर्ष कोरोना रोकथाम र नियन्त्रणको अभियानमा अग्रपङ्तिमा खटिएका शिक्षक–कर्मचारीलाई बेवास्ता गरेको भन्दै महासंघ म्याग्दीका अध्यक्ष जयराम सुबेदीले प्रजिअ गणेशबहादुर अधिकारीलाई ज्ञापनपत्र बुझाउनुभएको हो ।

म्याग्दी जिल्लामा सामुदायिक विद्यालयका पूर्व शिक्षकको कोरोना संक्रमणकै कारण ज्यान गएको र धेरै संक्रमति भएकाले विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीलाई प्राथमिकता दिन अनुरोध गरिएको अध्यक्ष सुबेदीले बताउनुभयो ।

‘खोप प्रयोगका लागि हामीलाई सरकारले दोस्रो दर्जाको नागरिक सरह ब्यवहार गरेको छ,‘बाध्य भएर खोप माग्दै ज्ञापनपत्र बुझाउनुपरेको छ’ अध्यक्ष सुबेदीले भन्नुभयो ।

ज्ञापनपत्र बुझ्दै प्रजिअ अधिकारीले अवको खोप कार्यक्रममा शिक्षकलाई समेट्न आफ्नो प्रयास रहने बताउनुभएको थियो । प्रजिअ अधिकारीले कोरोना रोकथामका लागि शिक्षकले खेलेको भूमिकाको समेत प्रशंसा गर्नुभएको थियो ।

कोरोनाको दोस्रो लहरसँगै समुदायस्तरमा विभिन्न किसिमका कार्यक्रमहरु सञ्चालनमा जोखिम मोलेर शिक्षक नै सक्रिय भएको अवस्थामा कोभिड–१९ खोप सबै किसिमका शिक्षकलाई तत्काल लगाउने वातावरण थप दवाव समेत दिने पेशागत संघसंस्थाले समेत चेतावनी दिएका छन् ।

सरकारले पहिलो र दोस्रो चरणमा सरकारी सहित विभिन्न निजी संघसंस्थामा कार्यरत कर्मचारीलाई खोप लगाउँदा समेत अपुग भन्दै शिक्षकलाई अन्तिम समयमा खोप अभियानबाट हटाएको थियो । देशभर कोरोना संक्रमणबाट करिब २ सय शिक्षकको ज्यान गएको र सयौं संक्रमति छन् ।

Leave a Reply