कोरोना संक्रमतिको उपचारको क्रममा मृत्यु भएपछि कालिगण्डकीको किनारमा दाहसंस्कारका लागि चितामा शब राखिएको थियो।

आसपासका क्षेत्रमा परिवार र आफन्त भावविहल अवस्थामा थिए भने शवको छेउमै पिपिई लगाएका चार जनाले धार्मिक विधि अनुसार दाहसंस्कार गर्न नपाएको भन्दै ज्ञातअज्ञात भगवानलाई सम्झिएर क्षमायातना सहित एक मिनेट मौन धारण गरेको दृष्य देखिन्थ्यो ।

म्याग्दी जिल्लामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको परिवारको चाहना अनुसार जलाउने अथवा खाल्टोमा गाड्ने कार्यमा नेपाल रेडक्रस सोसाइटी सक्रिय रहेको छ ।

कोरोना सङ्क्रमितको मृत्यु भएपछि रेडक्रस सोसाइटी म्याग्दी शाखाका उपमन्त्री तथा रेडक्रसद्वारा सञ्चालित रक्तसञ्चार सेवा केन्द्रका संयोजकसमेत रहेका सुरत केसीको नेतृत्वमा जनस्वास्थ्य सावधानीका मापदण्ड पूरा गरी निःशुल्क दाहसंस्कार गर्ने गरिएको छ।

मृतकका आफन्तसँगको समन्वयमा केसीसँगै आनन्द रिजाल, जनक सोनाम सहितको टोलीले निःशुल्क रुपमा दाहसंस्कारमा खटिने गरेको म्याग्दी शाखाका सभापति एवम् नेपाल रेडक्रस सोसाईटीका केन्द्रिय सदस्य लेखबहादुर हमालले बताए ।

‘गतबर्ष धेरै संक्रमतिको ज्यान गएन्, यसपटक धेरै खटिनुपर्ने अवस्था आयो,‘संक्रमतिको मृत्युपछि शब ब्यवस्थापनमा समेत तालिम प्राप्त टोली भएकाले सहज छ’ सभापति हमालले भने।

उनका अनुसार शब ब्यवस्थापनमा प्रयोग हुने सबै साम्रागीहरु रेडक्रस सोसाईटीले नै ब्यवस्थापन गरेको छ । उक्त अभियानमा रेडक्रस सोसाईटी केन्द्रले समेत आर्थिक सहयोगको प्रतिबद्धता जनाएको अध्यक्ष हमालले बताए ।

हालसम्म बेनी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएका १७ र पर्वतको जलजला गाउँपालिकाका ३ गरी १९ शब अन्त्येटी गरिएको शब ब्यवस्थापन उपसमितिका संयोजक केसीले बताए । ‘शब ब्यवस्थापनसँगै संक्रमतिका घरपरिवारलाई समेत आवतजावतमा सघाउँछौ,‘प्रत्येक७ दिनमा पिसिआरका लागी हाम्रो टिमको स्बाब समेत दिन्छौ’ संयोजक केसीले भने ।

उनले कालीगण्डकी र म्याग्दी नदीको दोभान रहेको दोबिल्ना, गलेश्वर, रघुगंगा गाउँपालिकाको पिप्ले, बैसरी आसपासका घाटसम्म मात्रै पुग्ने गरेको बताउँदै शब घाटसम्म लैजान समेत आवश्यक सर्तकता अपनाउने गरेको केसीको भनाई छ ।

उक्त टोलीले बेनी अस्पतालमा स्बाब संकलन तथा बिरामीलाई अस्पतालसम्म ल्याउन समेत आवश्यक सहकार्य भइरहेको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए । ‘उहाँहरु दैनिक विहानैदेखि सक्रिय हुनुहुन्छ,‘हामीले पनि अस्पतालबाट शब ब्यवस्थापनमा सक्ने सहयोग गरेका छौ’ अध्यक्ष कटुवालले भने ।

मृतकका आफन्तले समेत शब ब्यवस्थापनमा जिल्लामै क्रियाशिल संस्थामा आवद्ध भएका ब्यक्तिहरु हुदाँ सहज भएको बताउने गरेका छन् । शब ब्यवस्थापनपछि यातायातका साधन नभए टोलीले नै आफ्नो सवारीसाधनको प्रयोग गरी घरसम्म पु¥याउने गरेको छ।

अन्य जिल्लामा शब ब्यवस्थापनमा नेपाली सेना सहितको टोलीलाई महंगो खर्च गर्नुपरेपनि म्याग्दीमा पारिश्रमिक नलिईकन स्वयम्सेविका रुपमा सेवा गरिरहेका छन्। जिल्लामा यसअगाडी समेत एक शब ब्यवस्थापन गर्न करिब १८ देखि २० हजार खर्च हुने अनुमान सहितको प्रतिबेदन समेत पेश गरिएको थियो ।

गतबर्ष समेत रेडक्रसले नै शब ब्यवस्थापन गर्ने गरी जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले जिम्मा दिएको थियो । गतबर्ष समेत कोरोना रोकथाममा खेलेको भूमिकाको उच्च मुल्याङ्कन गदैं नेपाल सरकारले सम्मान समेत गरेको थियो ।

यसरी गरिन्छ शब ब्यवस्थापन
अस्पताल वा होम आइसोलेसनमा मृत्यु भएका संक्रमतिलाई स्यानिटाइज गरिएको सेतो प्लास्टिकमा बेरिन्छ। शब ब्यवस्थापन तालिम लिएको टोलीले सवारीसाधन राखेर घाट लगिन्छ। शब ब्यवस्थापन गर्ने टोलीले अनिवार्य रूपमा पिपिई लगाउँछन् ।मृतकको परिवार भित्रकालाई मात्रै करिब १५ मिटर टाढाबाट हेर्न लगाइन्छ ।

चितामा शब ब्यवस्थापन गरेपछि परिवारका सदस्यले सुरक्षित रूपले दागबत्ती दिएर शव जलाउने वा गाड्ने विधि पूरा गराइन्छ। दाहसंस्कार बेला जातजातिको विभिन्न संस्कार भएपनि जलाउने र गाड्ने क्रममा उक्त विधिलाई संस्कार अनुसार गरिदैन् । केहीले शवबाट टाढै बसेर मन्त्रोचरण र अन्य पूजा विधि सम्पन्न समेत गर्न सकिने भएपनि धेरैले संक्रमण फैलिन सक्ने भएकाले छिटो अन्त्येष्टी गर्ने गर्दछन् ।

चितामा शब जल्न सुरु गरेपछि रोग नफैलियोस् भनेर उच्च सतर्कता अपनाउदैं सबै टोली घाटबाट शरीरको सबै भाग नजल्दै टाढा गएर बस्छन् । मृतकलाई परिवारका सदस्यदेखि अरू कसैले शव छुन पाउँदैनन्, भने शब ब्यवस्थापनमा खटिएको टोलीले प्रयोग गरेको पिपिई सहितका साम्रागी जलाउँछन् ।

Leave a Reply