सुन्दरताले भरिपूर्ण मानिन्छ म्याग्दीकाे मालिका धुरी । प्राकृतिक सौन्दर्यका हिसाबले अब्बल छ । पहाडको टुप्पोमा पुगेर पूर्व, उत्तर र पश्चिम फर्कने हो भने सेताम्मे हिमालको दन्ते लहर देखिने । तल बेँसीतर्फ हेर्दा तरेली परेका पहाडहरुको सुन्दर दृश्य ।

मालिका मन्दिरको धुरीमा पुगेर आराम गर्दै प्राकृतिक सुन्दरतामा रमाउन पाउँदा धर्तीकै स्वर्गमा पुगे जस्तो आनन्द लाग्छ । बिहान सबेरैको सूर्योदय अनि बेलुकाको सूर्यास्त धित मरुञ्जेल हेर्न पाइन्छ ।

पुस, माघमा पर्ने हिउँ र चैत, वैशाखमा राताम्मे फूल फुल्ने लालीगुराँसले थप सुन्दरता थप्ने मालिका धुरीको शब्दमा कति बयान गर्ने ?

प्राकृतिक सुन्दरता बोकेको मालिका धुरी धार्मिक आस्था राख्नेहरुका लागि पनि आफैँमा महत्त्वपूर्ण तीर्थस्थल हो । ग्रामीण बस्तीको सुन्दर दृश्य अनि हिमालको साथै वरपरका डाँडाहरुको दृश्यले त्यहाँ पुग्ने जो कोही पनि मन्त्रमुग्ध हुन्छन् । ग्रामीण बस्तीहरुको सौन्दर्यसहित तरेली परेका पहाडको सुन्दरता नियाल्न पाइने म्याग्दीको मालिका धुरीको बारेमा जानकारी सायद कमैलाई होला ।

मालिका धुरी आफैँमा पनि निकै सुन्दर, आकर्षक र मनमोहक छ । पश्चिम म्याग्दीको मालिका गाउँपालिका-७ बिममा पर्ने मालिका धुरी धार्मिक पर्यटकीय गन्तव्य हो । पछिल्लो समय मालिका धुरी धार्मिक पर्यटकको रोजाइमा पर्दै जान थालेको छ ।

विकासका पूर्वाधारहरु सडकको पहुँच, पदमार्ग विस्तार तथा बस्नका लागि जस्तापाताको सत्तल निर्माणपछि अहिले खासगरी मालिका धुरीमा स्वदेशी पर्यटकहरुको आकर्षण बढ्दै गएको स्थानीय बताउँछन् । मालिका धुरीबाट सुन्दर दृश्यसहित ग्रामीण बस्तीहरुको मनोरम दृश्यावलोकन गर्न पाइन्छ ।

किन जाने मालिका धुरी ?

समुद्री सतहबाट ३ हजार ३ सय मिटरको उचाइमा मालिका धुरी अवस्थित छ । मालिका धुरीमा मालिका देवीको मन्दिर बनाइएको छ भने त्यही मन्दिरभित्र पूजाआजा गर्ने गरिन्छ ।

भूगोलका हिसाबले म्याग्दी जिल्लाको मध्य भागमा रहेकाे सबैभन्दा उच्च ठाउँको मालिका धुरी धार्मिक तथा पर्यटकीय किसिमले महत्त्वपूर्ण मानिन्छ । मालिका धुरीबाट धौलागिरि, अन्नपूर्ण, मानापाथी, निलगिरि, माछापुच्छ्रे, गुर्जा, मनास्लु, सिस्नेलगायत झण्डै दुई दर्जन बढी हिमालहरु देखिन्छन् ।

म्याग्दीकाे ३५ भन्दाबढी ग्रामीण बस्तीहरु देखिने मालिका धुरी आसपासको जङ्गलमा बहुमूल्य जडिबुटी, वन्यजन्तु जनावर,पक्षीहरुको अवलोकन गर्न सकिन्छ । मालिका धुरीमा पुगेर मन्दिरको दर्शन तथा पूजाआजा गरेमा आफ्नो मनोकामना पूरा हुने विश्वासले हरेक वर्ष धार्मिक पर्यटकहरु मालिका आउने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष छकप्रसाद पाइजाले बताउनुभयो ।

उहाँले अध्ययन, वैदेशिक यात्रा, सन्तान प्राप्ति, राजनीतिक क्षेत्र, व्यापार, व्यवसाय र रोजगारीमा सफलताको कामनासहित ज्येष्ठी, चण्डी र कात्तिके पूर्णिमाका दिन भक्तजनहरुको भीड लाग्ने र बोका तथा परेवाले बलि दिइने जानकारी दिनुभयो ।

धार्मिक पर्यटक कुन-कुन ठाउँका जान्छन् ?

प्रसिद्ध मालिका धुरी तथा मालिका मन्दिरको दर्शन र पूजा अर्चनाका लागि म्याग्दीसहित पर्वत, बाग्लुङ, पोखरा तथा चितवनलगायत ठाउँबाट धार्मिक पर्यटकहरु आउने गरेको मालिका मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

मालिकामा वैशाख, जेठ र कात्तिक, मंसिरमा मानिसहरुको भीड लाग्ने गर्दछ । घुमफिरका लागि हिउँ पर्ने समय र लालीगुराँस फुल्ने समयमा पनि पर्यटकहरु मालिका पुगेर रमाउने गर्दछन्

मालिकाको आसपासमा के-के पाइन्छ ?

धार्मिक र पर्यटनको साथसाथै मालिका धुरी आसपास क्षेत्रमा विभिन्न प्रकृतिका बहुमूल्य जडिबुटी तथा वन्यजन्तु जनावर र पक्षीहरु पाइनु यहाँको अर्को थप आकर्षण हो ।

यस क्षेत्रमा लौठसल्लो, चिराइतो, भूतकेस, चुल्ठे अमिलो, सतुवालगायत जडिबुटीहरु पाइन्छन् । यसैगरी चितुवा, भालु, मृग, घोरल, दुम्सी, खरायो, डाँफे, मुनाल, कालीज, चिरकालीज लगायतका वन्यजन्तु तथा पक्षी पाइने म्याग्दीका जडिबुटी विज्ञ चन्द्रमणि सापकोटाले बताउनुभयो ।

विकासका पूर्वाधारहरु थपिँदै

मालिका धुरीमा पर्यटकहरुको आकर्षण बढ्दै जान थालेपछि वडा कार्यालय, गाउँपालिका र स्थानीयबासिन्दाको पहलमा विकासका पूर्वाधारहरु थपिन थालेका छन् । गएकाे वर्ष गण्डकी प्रदेश सरकारको ४० लाख रुपैयाँका आर्थिक सहयोगमा मालिका धुरी पुग्ने १ हजार २ सय ७२ मिटर लामो पदमार्ग निर्माण गर्नुका साथै गाउँपालिकाको ८० लाख रुपैयाँको लागतमा बिम गाउँदेखि माथि धौलागौँडासम्म सडक विस्तार गरिएको बिमका वडा अध्यक्ष सुविन जुग्जालीले बताउनुभयो ।

कताबाट जान सकिन्छ मालिका ?

मालिका धुरी जानका लागि म्याग्दी सदरमुकाम बेनीदेखि सजिलै जीप वा बस चढ्न पाइन्छ । दरबाङ हुँदै बिमको धौलागौँडासम्म जीप चढेर गएपछि त्यहाँबाट २ घण्टा पदमार्गमा पैदलयात्रा गरी मालिका धुरीमा पुगिन्छ । त्यस्तै बेनी-पुलाचौर-डडुवा हुँदै टोड्के र बेनी-पात्लेखेत-झिँ भएर टोड्के पुगेर त्यहाँबाट ३/४ घण्टा वनको यात्रा गरेर पनि मालिका जान सकिन्छ ।

त्यसैगरी बेनी-पाखापानी-ठाडाखानी हुँदै मालिका पुगिन्छ भने यसका साथसाथै झिँ, पूर्णगाउँ र बिम गएर होमस्टे वा टोड्केको रिसोर्टमा बास बसी बिहान सबैरे मालिका गइ पूजा गरेर फर्कन सकिन्छ ।

Leave a Reply