म्याग्दीको मंगला गाउँपालिका वडा नम्बर ३ र ४ घर भई हाल रोजगारीको शिलशिलामा अमेरिकामा रहेका बरंजाबासीहरुले स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण र विरामीको उपचारमा सघाउने उद्धेश्यले अमेरिकामा रहेका मनप्रसाद रोका मगरको नेतृत्वमा बरंजाबासीहरुले आर्थिक संकलन गरी स्वास्थ्य सामग्री खरिद गरेर सहयोग गरेका हुन् ।

सो स्वास्थ्य सामग्री आर्थिक सहयोग व्यवस्थापन समिति अन्तर्गत बजार व्यवस्थापक तथा समाजसेवी लोकेश पुनले आइतबार एक कार्यक्रमका विच वडा नम्बर ३ र ४ का वडा अध्यक्षद्धय कबिन्द्र रोका मगर र ओमबहादुर रोका मगर मार्फत आर्थिक सहयोग व्यवस्थापन समितिका अध्यक्ष रेशम बुढाथोकी र बरंजा स्वास्थ्य चौकीकी अनमि रन्जना थापालाई हस्तान्तरण गर्नुभयो ।

अमेरिकामा रहेका बरंजीहरुको आर्थिक सहयोगमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण र संक्रमित विरामीको उपचारका लागि दुई थान अक्सिजन कन्सन्टेटर,थर्मोमिटर ,अक्सिमिटर ,मास्क ,सेनिटाइजर,पीपीई लगायत ६ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री खरिद गरेर हस्तान्तरण गरिएको बजार व्यवस्थापक तथा समाजसेवी पुनले बताउनुभयो ।

यसैगरी कार्यक्रममा वडा अध्यक्षद्धय रोकाले स्वास्थ्य सामग्री सहयोगप्रति अमेरिकामा रहेका बरंजीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । आर्थिक सहयोग व्यवस्थापन समितिका अध्यक्ष बुढाथोकीले वडा नम्बर ३ र ४ मा संक्रमणदर थप फैलिन नदिन र संक्रमित विरामीको उपचारमा सघाउन प्रत्येक टोलमा स्वंयसेवक परिचालन गरिएको बताउनुभयो । उहाँले सहयोगप्रति विदेशमा रहेका बरंजाबासीलाई धन्यवाद व्यक्त गर्नुभयो ।

‘बरंजा पनि कोरोनाबाट अछुत रहेन ,समुदायमा थप संक्रमण फैलिन नदिन र संक्रमित विरामीको उपचारमा सघाउन हामिले दुई वटै वडाका प्रत्येक टोलमा स्वंयसेवक परिचालन गरेर सचेतना जगाउने र आवश्यक स्वास्थ्य सामग्री वितरण गर्दै आएका छौं’,– कोरोना भाइरस रोकथाम ,नियन्त्रण, व्यवस्थापन तथा संक्रमित विरामीको उपचारमा सघाउनका लागि अािर्थक सहयोग व्यवस्थापन समितिका अध्यक्ष बुढाथोकीले भन्नुभयो।

यसैगरी,सोही अवसरमा महामारीको समयमा संक्रमित संगै सबै खाले विरामीलाई अस्पताल लैजान र ल्याउन निशुल्क एम्बुलेन्स संचालनमा ल्याइएको छ । कार्यक्रमको संचालन आर्थिक सहयोग व्यवस्थापन समितिका सचिव चित्र बहादुर रोकाले गर्नुभएको थियो ।
एम्बुलेन्स सेवाको लागि
मिलन रोका मगर :९८५७६५१५२३
बिरबहादुर घर्ति : ९८६६४०४७७३

Leave a Reply