नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखाले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको अभियान सुरु गरेको छ ।

सोही अभियानअन्तर्गत सोमबार बेनी नगरपालिका–५, पुलाचौरको सबै वस्तीमा पुगेर कोरोना संक्रमण पुष्टि भई निको भएकालाई स्वास्थ्य सामग्रीहरु वितरण गरिएको हो । कोरोना विजेता संक्रमितलाई घरभेट गरेर स्वास्थ्य सुरक्षा सतर्कताका सामग्रीहरु वितरण गरिएको रेडक्रस पुलाचौर उपशाखाले जनाएको छ ।

विजेताहरुको मनोबल उच्च बनाउन तथा समुदायस्तरमा जनस्वास्थ्य सुरक्षाको सन्देश फैलाउने उद्देश्यले स्वास्थ्य सामग्री वितरण गरिएको रेडक्रस पुलाचौर उपशाखाका सभापति शिव बानियाँले जानकारी दिनुभयो ।
उपशाखाको पहलमा रेडक्रस जिल्ला शाखाको जिन्सी सहयोग तथा रेडक्रसकर्मीलगायत विभिन्न व्यक्तिहरुको सहयोगमा स्वास्थ्य सुरक्षाका सामग्री खरिद गरी कोरोना विजेतालाई उपलब्ध गराइएको छ ।

रेडक्रस उपशाखाले थालेको अभियानअनुसार कोभिड संक्रमण भई पूर्ण रुपमा निको भएका विजेतालाई प्रतिव्यक्ति एकएक वटाका दरले बाल्टीन, १ सय एमएलको स्यानीटाइजर, हात धुने साबुन र १० पिसका दरले मास्क वितरण गरिएको छ ।

स्वास्थ्य सामग्रीहरु उपशाखाका पदाधिकारीसहित स्वास्थ्यकर्मीहरु चाहना शर्मा, बबि केसी र हिरा जिसीसहित रेडक्रसकर्मीको टोलीले वितरण गरेको उपशाखाको विपद् व्यवस्थापन समिति सचिव गजिन्द्र श्रेष्ठले बताउनुभयो ।

उक्त सामग्रीहरु वडाका ५२ जना कोरोना विजेतालाई वितरण गरिएको सामग्रीमध्ये रेडक्रस जिल्ला शाखाले ७ सय पिस मास्क र ६० पिस साबुन सहयोग गरेको थियो भने उपशाखाको पहलमा ५२ वटा बाल्टिन र ५२ पिस स्यानीटाइजर खरिद गरी वितरण गरिएको छ ।

यसैगरी रेडक्रस उपशाखामार्फत पुलाचौर स्वास्थ्यचौकीलाई सुगर परीक्षण गर्नका लागि २ थान गुल्कोमिटर, ज्वरो नाप्ने ३ थान थर्मोमिटर, एक थान पिपिई सेट, २ वटा बाल्टिन, मास्क र स्यानीटाइजर हस्तान्तरण गरिएको छ ।

उक्त सामग्री स्वास्थ्यचौकीका सिनियर अनमी अमृता विक सुनारलाई पुलाचौरका वडा अध्यक्ष लक्ष्मण बानियाँ, रेडक्रस सभापति शिव बानियाँ र विपद् व्यवस्थापन समिति सचिव गजिन्द्र श्रेष्ठले हस्तान्तरण गर्नुभएको थियो । उपशाखालाई स्वास्थ्य सामग्री सहयोगमा बानियाँ र श्रेष्ठले पाँचपाँच हजार रुपैयाँ सहयोग गर्नुभएको थियो । उक्त सहयोगबाट स्वास्थ्य सामग्री खरिद गरी रेडक्रसमार्फत स्वास्थ्यचौकीलाई हस्तान्तरण गरिएको हो ।

त्यस्तै बेनपा–५, भीरमुनी घरभई हाल बेनीबजार निवासी रेडक्रस पुलाचौर उपशाखाका संस्थापक सदस्य एवं विशिष्ट सदस्य सुर्यप्रकाश बानियाँले रेडक्रसले थालेको स्वास्थ्य सचेतना अभियान सफल बनाउन नगद एकलाख रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ । रेडक्रस पुलाचौर उपशाखाले गएको वर्ष पनि निषेधाज्ञाको समयमा पुलाचौरको सबै घरधुरीमा पुगेर मास्क र साबुन वितरण गरेको थियो ।

यसअघि रेडक्रस उपशाखाको प्राङ्गणमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष बानियाँले रेडक्रसले समुदायस्तरमा थालेको अभियान अत्यन्तै सराह्रनीय रहेकोमा प्रशंसा गर्नुभयो ।

उहाँले अझै पनि समुदायस्तरमा कोरोना भाइरसको जोखिम कायमै रहेकाले अहिलेको अवस्थामा बोल्नेभन्दा पनि संक्रमण हुनबाट जोगिन आवश्यक रहेकोमा जोड दिनुभयो । सोही कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष एवं रेडक्रस पुलाचौरका सल्लाहकार प्रकाश पौडेलले नयाँ भेरिएन्टसहितको कोरोना भाइरसविरुद्ध स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन जरुरी रहेको बताउनुभयो ।

कार्यक्रमको अवसरमा कोभिड विजेताद्वय सुरत बानियाँ र मुक्तिनाथ पौडेलले रेडक्रसले सुरु गरेको अभियान सकारात्मक रहेको भन्दै नगद एकएक हजार रुपैयाँ सहयोग गर्नुभएको छ । उपशाखाका निवर्तमान सभापति यामबहादुर बानियाँले मन्तव्य राखेको कार्यक्रम सभापति शिव बानियाँको अध्यक्षता, सचिव रेशम बानियाँको सञ्चालन र रेडक्रसको विपद् व्यवस्थापन समितिका सचिव गजिन्द्र श्रेष्ठको स्वागतमा सम्पन्न भएको थियो ।

 

Leave a Reply