म्याग्दीको दुर्गम गाउँपालिका भनेर चिनिने धवलागिरी गाउँपालिकाले अस्थायी कोरोना अस्पतालमा भिडियो एक्सरे सेवा शुरु गरेको छ । गाउँपालिकाको वडा नं ७ ताकममा रहेको अस्पतालमा माइनर अप्रेशसन सहित भिडियो एक्सरे सेवा सुरू गरेको हो ।

भौगोलिक रूपमा विकट बस्तीमा बसोबास गर्नेले स्वास्थ्य चौकीबाट लिने सेवा बाहेक भिडियो एक्सरे तथा अप्रेसशनका लागि दरबाङ र सदरमुकाम बेनी जानुपर्ने बाध्यतालाई मध्यनजर गरी भिडियो एक्सरे, अप्रेशन सहित ल्याबको स्थापना गरिएको गाउँपालिका अध्यक्ष थमसरा पुनले बताउनुभयो।

‘गाउँमै गुणस्तरीय सेवा दिने अभियानको एउटा प्रयास मात्रै हो,‘सकेसम्म उपचारका लागि बाहिर जान नपरोस् भन्ने लक्षय सहित सेवा र उपकरण थप्दैछौ’ अध्यक्ष पुनले भन्नुभयो । कोरोना अस्पतालमा ल्याब प्राविधिक बासुदेब आचार्य र नर्स रुपा केसी कार्यरत छन् ।

अस्थायी कोरोना अस्पतालमा कार्यरत डा. एकराज भण्डारीले कोरोना संक्रमति बाहेक बस्तीबस्तीमै पुगेर सेवा दिइहरेको अवस्थामा गर्भवती महिलाले चेकजाँचमा भिडियो एक्सरे सेवा आवश्यकता रहेको बताएपछि थप गरिएको गाउँपालिकाले जनाएको छ ।गाउँपालिकाले नयाँ उपकरण थपसँगै प्रयोगका लागि स्वास्थ्यकर्मीलाई आवश्यक तालिम समेत दिने जनाएको छ ।  गर्भवती भएको लामो समयसम्म स्वास्थ्य चौकीसम्म नजाने समस्याले आमा र बच्चाको मृत्युको जोखिम समेत रहेकोमा भिडियो एक्सरे सेवामार्फत गर्भवती आमा र बच्चाको अवस्थाबारे पत्ता लगाउन सजिलो हुन्छ ।


काठमाण्डौबाट एक लाख बराबरको सहयोग
गाउँपालिकाका विभिन्न वडामा स्थायी घर भई काठमाण्डौमा बसोबास गर्ने उपकार आमा समूहले कोरोना रोकथाम तथा नियन्त्रणका लागि १ लाख बराबरको औषधी सहित स्वास्थ्य साम्रागी सहयोग गरेको छ । आमा समुहमार्फत गरिएको उक्त सहयोग प्राप्त भएको गाउँपालिका अध्यक्ष पुनको भनाई छ । यता कोरोनाको लक्षण देखिएकालाई घरदैलोमै स्बाब संकलन तथा एन्टिजेन परीक्षण गरिएको छ ।

Leave a Reply