सुतेकै अवस्थामा खाडी मुलुक कतारमा ज्यान गुमाउनुभएका म्याग्दी जिल्ला मालिका–५ रुन्माका निर प्रसाद कामीको दरबाङस्थित म्याग्दी खोलामा अन्त्येष्टी गरिएको छ ।

गत मे २० मा कतारमा मृत्यु भएपछि आवश्यक कानुनी कागजी प्रक्रिया सहितको तयारी पुरा गरेपछि मोना कतारका अध्यक्ष नरेन्द्र फगामी, मृतकका आफन्त र कम्पनीका प्रतिनिधिले कतारको सरकारी हमाद अस्पताल पुगेर प्रक्रिया पुरा गरी शव नेपाल पठाइएको हो ।

रोजगारीको सिलसिलामा करिब ८ वर्ष अघि कतार आएका कामीको हृदयाघातका सुतेकै अवस्थामा अचेत भेटिएपछि अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए ।

मृतक कामीको २ छोरा, श्रीमती र आमा हुनुहुन्छ ।कामीको मृत्यु लगत्तै नेपाली नियोगमा पुगेर शव नेपाल पठाउन तथा कामीले पाउनु पर्ने सबै रकम लिएर पठाउने कार्यमा मोना कतारका अध्यक्ष फगामीले सहजीकरण गर्नुभएको थियो ।

फगामीका अनुसार मृतकको श्रीमतीको नाममा बैकमा खाता खोलेर पाउनु पर्ने इन्सोरेन्स र बोनस बापत प्राप्त कतारी रियाल २१ हजार ५६९ रियाल अर्थात् ६ लाख ८४ हजार ९४७ रुपैयाँ जम्मा गरिसकिएको छ ।

कम्पनीले लाइफ इन्सोरेन्स गरिदिएको भए मृतकको परिवारलाई रकम बढी मिल्ने फगामीले बताउनुभयो । ‘कम्पनीले वर्क इन्सोरेन्स मात्र गरेको रहेछ त्यस कारण रकम कम प्राप्त भयो’, फगामीले भन्नुभयो । परिवारको अवस्था दयनीय भएको हुँदा मोना कतारले पनि आर्थिक सहयोग जुटाउने फगामीले बताउनुभयो ।

मृतक कामी सँगै कतार एयरवेजको जहाजमा बन्द बाकसमा जङ्ग बहादुर सुवेदी र धन बहादुर नेपालीको शव पनि पठाइएको छ । नेपाली नियोग कतारका द्वितीय सचिव भुवन भट्टका अनुसार भोलि नेपाल एयरलाइन्सको उडान मार्फत थप १ विष्णु प्रसाद बस्यालको शव नेपाल पठाउन लागिएको छ ।कतारको सरकारी अस्पतालमा अझै ८ जना नेपालीको शव रहेका छन् ।

Leave a Reply