म्याग्दी जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणको अभियानमा सक्रिय रहेको लायन्स क्लब अफ बेनी पिस सिटी उत्कृष्ट क्लबको रुपमा सम्मानीत भएको छ । लायन्स क्लब अफ अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ बि १ नेपालले मे महिनामा उत्कृष्ट मानविय र सामाजिक सेवामा कार्य गरेकोमा अवार्डद्धारा सम्मान गरेको हो ।

त्यस्तै क्लवका पूर्व अध्यक्ष एवम् रिजन चियरपर्सन लोकेश पुन मगरलाई सक्रिय लिडरको अवार्डले सम्मान गरेको छ । मोफसलमा रहेका क्लबहरुमध्येबाट एक्टीभ क्लबको रुपमा डिस्ट्रिक्ट गभर्नरद्धारा प्रदान हुने अवार्ड प्राप्त भएको र यसले थप सामाजिक कार्यप्रतिको जिम्मेवारी बढाएको क्लबका अध्यक्ष खम थापा मगरले बताउनुभयो ।

‘कोरोनाको जोखिममा परेकालाई घरदैलोमा पुगेर सेवा दिएका छौ,‘हामीले गरेको कामको मुल्याङ्कन भएकोमा आभारी छौ, जिम्मेबारी थपिएको छ’ अध्यक्ष थापा मगरले भन्नुभयो ।

क्लवमा आवद्ध भएका सदस्यहरुले आर्थिक सहयोग जुटाएर एम्बुलेन्समार्फत पोखरासम्म उपचारका लागि तथा जिल्लाका ग्रामिण क्षेत्रसम्म पुगेर बिरामीलाई अस्पतालमा ल्याएर कोरोना महामारीको नियन्त्रण, रोकथाम र उपचारमा सघाएको अध्यक्ष थापा मगरको भनाई छ ।

क्लवले ३ लाख ५१ हजार लागतमा बेनी अस्पतालमा औषधी विक्रि कक्ष अस्थायी भवन निर्माण गरेको क्लबले धवलागिरि र मंगला गाउँपालिकामा करिब रु १ लाख बराबरको स्वास्थ्य सामाग्री वितरण गरेको थियो।

क्लबले कारोना महामारीको समयमा लकडाउनको कारण अस्पतालसम्म आउन र घर फर्कन समस्यामा परेका विरामीहरुलाई लक्षित गरी ओमकुमारी शान्ति कोषसंगको समन्वयमा एम्बुलेन्सको रुपमा प्रयोग गर्ने गरी दुई वटा निशुल्क यातायात सेवा समेत सञ्चालन गरेको छ ।

हालसम्म ५० जना भन्दा बढीलाई जिल्लाभित्र र जिल्लाबाट पोखरा लगायतका ठुला शहरहरुमा उपचारका लागि यातायात सेवा उपलब्ध गराईसकेको जनाईएको छ । क्लवले शिक्षा, स्वास्थ्य सहित सामाजिक एवम् समुदायस्तरमा विभिन्न कार्यक्रम समेत गर्ने गरेको छ । गतबर्ष जिल्लाको पर्यटनको विकासमा समेत विभिन्न स्थानमा पुगेर प्रर्बधनको काम समेत गरेको थियो ।

Leave a Reply