म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतिको साझापानीका युवाहरु कोरोना (भाइरस) संक्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञामा फुर्सदको समयलाई विकासमा लगाएका छन् । अध्ययन, पेशा, ब्यवसाय गर्न बजारमा बस्दै आएका युवाहरु गाउँ फर्किएर सिचाइ आयोजना निर्माणमा जुटेका हुन् ।

साझापानीका युवाहरुले कोरोनाबाट जोगिएर निषेधाज्ञाको फुर्सदको समयलाई रुइसे सिचाई आयोजना निर्माणमा उपयोग गरेका आयोजनाका सचिव रमेश भण्डारीले बताए ।

१५/१५ जनाको तीनवटा समूह बनाएर स्वास्थ्य सुरक्षा मापदण्ड पालना र दुरी कायम गरेर तीन/तीन दिनका दरले नहर निर्माणमा परिचालन गरेको छ । रोजगारी सिर्जना, आम्दानीको अवसरका साथै उपभोक्ता समितिलाई बाहिरबाट मजदुर ल्याउनुपर्ने समस्या हटेको छ ।

खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दी मार्फत चालु आर्थिक वर्ष २०७७/०७८ मा बिनियोजन भएको २८ लाख ८७ हजार र उपभोक्ताको तीन लाख सात हजार रुपैयाँ बराबरको श्रमदानबाट आयोजना निर्माण हुन लागेको हो । ४४५ मिटर नहर, ४०० मिटर पाइप जडान, ७ वटा कलेक्सन च्याम्बर र १ वटा विपिटी निर्माण गर्ने लक्ष्य छ ।

पाइप जडान, कलेक्सन च्याम्बर, पिपिटी र खरभिर खण्डमा ३५० मिटर नहर निर्माण भइसकेको छ । रुइसेमा मुहान भएको यस आयोजना गत आर्थिक वर्षदेखि निर्माण सुरु भएको थियो ।

पहिलो वर्ष कार्यालयको १९ लाख २१ हजार ७३० अनुदान र उपभोक्ताको दुई लाख १७ हजार रुपैयाँ बराबरको श्रमदानमा मुहानमा इन्टेक, नौलीबराहमा १ वटा कलेक्शन च्यामबर र २८५ मिटर नहर निर्माण भएको कार्यालयका इञ्जिनियर अञ्जन खत्रीले बताए ।  भगवतिको साझापानी, बुझबुझे, सान्ते, देउपुर्ण, तिबाङ र दोब्तागैराको १९ हेक्टर क्षेत्रफलमा सिचाई सुबिधा पुग्छ ।

सिचाईको अभावमा आकाशे पानीको भरमा खेतीबाली लगाउनुपर्ने समस्या थियो । सिँचाइ असुविधाले बाझिएका जमिन प्रयोगमा आउने र नियमित खेती गर्न पाउने रुइसे सिँचाइ आयोजनाका अध्यक्ष कमल भण्डारीले बताए ।

यसैगरी भगवतिको छिमेकी वडा पिप्लेमा करिब रु. पचास लाखमा निर्माण भएको पिप्ले सिँचाइ आयोजना सञ्चालनमा आएपछि डेढ सय घरधुरी कृषकको एक हजार रोपनी भन्दा बढी जमिनमा सिँचाइ सुविधा पुगेको छ । Source: annapurnapost.com

Leave a Reply