राष्ट्रिय गौरवको आयोजना  कालीगण्डकी करिडोरको बेनी-जोमसोम ७६ किमि सडक मापदण्डमा पर्ने घर-टहरा धनीलाई आर्थिक सहायता राहतस्वरूप क्षतिपूर्ति प्रदान गरिने भएको छ।

यसअघि कालीगण्डकी करिडोर सडक आयोजनाले बेनी-जोमसोम सडकखण्डको मापदण्डमा पर्ने अस्थायी र स्थायी संरचना निर्क्यौल गर्नका लागि २०७५ साल भदौमा मार्किङ गरी रेजा लगाउने काम गरेकोमा त्यसको साढे दुई वर्षपछि क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको हो।

राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडकखण्डको मापदण्डमा पर्ने संरचना हटाउन भौतिक तथा पूर्वाधार मन्त्रालयले चालू आर्थिक वर्ष तीन करोड बजेट विनियोजन गरेको करिडोर सडकका सूचना अधिकारी अश्विनीकुमार यादवले जानकारी दिए। राष्ट्रिय राजमार्गमा पर्ने संरचना हटाउन उपलब्ध बजेट अपुग भएमा आगामी आर्थिक वर्षमा थप बजेटको सुनिश्चितता गरिने उनले बताए।

कालीगण्डकी करिडोरको बेनी—जोमसोम सडक आयोजनाले  मापदण्डमा पर्ने घर—गोठ—टहरालगायतको क्षतिपूर्ति उपलब्ध गराउने उद्देश्यले यसको प्राविधिक मूल्यांकन गरी लागत÷स्टमेटसमेत तयारी गरिसकेकोे छ। आयोजनाले वैशाख ३० गते सूचना प्रकाशित गरी मापदण्डमा पर्ने घरटहराको सूची प्रकाशित गर्दै १५ दिनभित्र कार्यालयको सम्पर्कमा आउनसमेत अल्टिमेटम दिएको थियो।

राष्ट्रिय गौरवको बेनी—जोमसोम—कोरला सडकखण्डको मापदण्डमा पर्ने संरचनाको क्षति पूर्ति उपलब्ध गराउन २०७५ सालमा प्रजिअको संयोजकत्वमा करिडोर, मालपोत र नापी कार्यालयको प्रतिनिधि रहने गरी क्षतिपूर्ति निर्धारण समिति बनेको थियो।

राष्ट्रिय गौरवको कोरला सडक अन्तिम चरणमा आइपुग्दा मुस्ताङमा जेठ १९ गते र म्याग्दीमा जेठ २४ गते क्षतिपूर्ति निर्धारण समितिको बैठक बसेको प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले जानकारी दिइन्।

कालीगण्डकी करिडोर सडकले सार्वजनिक गरेको सूचनामा बेनी-जोमसोम सडकखण्डको मुस्ताङ खण्डअन्तर्गत थासाङ गापाको घासादेखि जोमसोमसम्मको ३४.५ किमि सडक मापदण्डमा पर्ने ९८ घरटहराको अन्तिम नामावली प्रकाशन गरेको छ।

करिडोरका अनुसार बेनी-जोमसोम सडकखण्डअन्तर्गत मुस्ताङको थासाङ-४ घाँसादेखि कैकु खोलासम्म १७ घर-टहरा, कैकु खोलादेखि कोवाङसम्म ४७ घरधुरी मापदण्डमा परेका छन्। कोवाङदेखि जोमसोमसम्मको १८ किमि सडकमा ३४ घरधुरी मापदण्डमा परेका छन्। कोवाङदेखि जोमसोमसम्मको ३४ घरधुरीमध्ये करिब दुई दर्जन घरधुरी सदरमुकाम जोमसोमको मापदण्डमा परेको जनाइएको छ।

राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकअन्तर्गत मुस्ताङको थासाङ-१ टुकुचेमा सडक मार्गसम्बन्धी विवादले मापदण्ड कायम गर्ने काम रोकिएको छ। स्थानीयले बस्ती भित्रबाट सडक विस्तार गर्दा दर्जनौ घर-टहरा विस्थापित हुने भन्दै वैकल्पिक मार्गबाट सडक विस्तार गर्न करिडोरलाई माग गरेका छन्।

करिडोरले स्थानीयको विवादका कारण अस्थायी रूपमा बस्ती बाहिरबाट सडक विस्तार गरेको जनाएको छ। करिडोरले सडक विस्तारका क्रममा स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीयवासीले सहयोग नगरेको आरोप लगाएको छ।

कालीगण्डकी करिडोरले उत्तरी—चीनसँग दीर्घकालीन व्यापारिक मार्ग विस्तार गर्ने उद्देश्यले साविक सडकको मध्य विन्दुबाट केन्द्र मानेर दायाँबायाँ ६-६ मिटर ओगट्ने गरी सडक चौडा गर्न थालेको हो। चालू आर्थिक वर्षभित्रै मापदण्डमा परेका घरटहराको क्षतिपूर्ति उपलब्ध गराएर मापदण्डमा परेका बस्तीमा सडक बिस्तारमा जोड दिने करिडोरको योजना छ।

राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडकअन्तर्गत कुल ११ प्याकेजको ७५ प्रतिशत भौतिक प्रगति भएको करिडोरले जनाएको छ। बेनी-जोमसोम ७६ किमीको ६५ प्रतिशत र जोमसोम-कोरला १ सय १० किमिीसडकको ९० प्रतिशत भौतिक प्रगति हुँदा जोमसोम- कोरला ७ प्याकेजमध्ये ४ प्याकेजको काम सम्पन्न भइसकेको छ। Source: annapurnapost.com

Leave a Reply