म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयको आयोजनामा अभिभावक खुल्ला लोकगीत प्रतियोगिता सम्पन्न भएको छ ।

कोभिड–१९ ले आक्रान्त पारिरहेको अवस्थामा लोक जीवनमा लोकगीत मल्हम बन्न सक्छ भन्ने मान्यतासहित ‘एभरेष्टियन हौं गलिएको छैन, तन थलिए पनि मन थलिएको छैन’ भन्ने मूल नारासहित प्रतियोगिता आयोजना गरिएको थियो ।

कोभिड–१९ नियन्त्रण तथा रोकथाम गर्नका लागि जारी निषेधाज्ञाले घरमै बस्न बाध्य बालबालिका तथा अभिभावकलाई रचनात्मक क्रियाकलापमा सहभागी बनाउन लोकगीत प्रतियोगिता आयोजना गरिएको विद्यालयले जनाएको छ ।

विद्यालयको सबै तहमा अध्ययनरत बालबालिकाहरुको अभिभावकलाई लक्षित गरी बिहीबार सम्पन्न लोकगीत प्रतियोगितामा कुल १२ जना अभिभावकले सहभागिता जनाएका थिए । तीमध्ये विद्यालयको कक्षा ३ मा अध्ययनरत कुन्जन खत्रीका अभिभावक बेनी नगरपालिका–५, चिप्लेटीका राजन खत्री प्रथम हुनुभएको छ ।

यसैगरी प्रतियोगिताबाट कक्षा ५ मा अध्ययनरत प्रतिज्ञा परियारका अभिभावक अस्मिता परियार द्वितीय, एलकेजीमा अध्ययनरत मुकेश छिन्त्यालका अभिभावक बिमला खत्री तृतीय र एलकेजीकै रोहन मलिक्को अभिभावक राजकुमार परियार सान्त्वना हुनुभएको विद्यालयले जानकारी दिएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः चारहजार, तीनहजार, दुईहजार, एकहजार रुपैयाँ र प्रमाणपत्रसहित पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितामा प्रथम हुने कुन्जनका अभिभावक राजन खत्री हाल रोजगारको सिलसिलामा कतारमा हुनुहुन्छ। सानैदेखि लोकगीत र दोहोरीगीत गाउने उहाँले ‘छातीको देब्रे पाटोमा’ बोलको लोकदोहोरीगीतको एल्बम समेत बजारमा ल्याउनुभएको छ ।

उक्त खुल्ला लोकगीत प्रतियोगिताको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति म्याग्दीका निवर्तमान अध्यक्ष कृष्ण जिसी, प्रथम उपाध्यक्ष धुर्ब जिसी र विद्यालयका पूर्व शिक्षक कमल बानियाँले निर्णायकको भूमिका निभाउनुभएको थियो ।

विद्यालयले आयोजना गरेको लोकगीत प्रतियोगितामा सहभागी अभिभावकहरुले मोबाइलमा गीत रेकर्ड गरेर विद्यालयको एप्स र ह्वाट्सएपमा पठाएका थिए । उनीहरुले कोरोना भाइरसले पारेको असर तथा प्रभावलाई समेटेर लोकगीतमार्फत व्यक्त गरेका थिए । विजेताहरुलाई एक कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरिने भएको छ ।

कोभिडका कारण विद्यालय भौतिक रुपमा सञ्चालन नभएको अवस्थामा अभिभावक र विद्यालय बीचको सम्बन्ध सुमधुर बनाइराख्नका लागि खुल्ला रुपमा अभिभावकबीच लोकगीत प्रतियोगिता आयोजना गरिएको विद्यालयका प्रिन्सिपल राजु केसीले बताउनुभयो ।

उहाँले असार १ गतेबाट अनलाइन कक्षा सञ्चालन गरिने बताउँदै त्यसपछि अभिभावकहरुको बीचमा ‘कसको हेन्डराइटिङ’ राम्रो भन्ने प्रतियोगिता समेत गर्ने तयारी गरिएको जानकारी दिनुभयो । विद्यार्थी सँगसँगै अभिभावकहरुले पनि केही सिकुन् भनेर आयोजित लोकगीत प्रतियोगितामा अभिभावकहरुको उत्साहजनक सहभागिता रहेको विद्यालयको भनाइ छ ।

Leave a Reply