पश्चिम म्याग्दीको ’लाइफलाइन’ मानिने बेनी–दरबाङ सडक अवरुद्ध भएको छ । गएरातीको बर्षाले बेनी नगरपालिका–४,तातोपानीको घुमाउने तालमा सडक अवरुद्ध भएको हो ।

बेनी नगरपालिका र मंगला गाउँपालिका जोड्ने उक्त स्थानमा माथिबाट खसेको रेलोले सडक पूर्णरुपमा अवरुद्ध भएको तातोपानीका स्थानीय यूवा कुमार केसीले बेनीअनलानलाई जानकारी दिनुभयो ।

‘पैदल हिड्न पनि समस्या छ,‘हरेकबर्ष उस्तै समस्या छ’ केसीले भन्नुभयो। लगातारको बर्षाले सडकखण्डका विभिन्न स्थानमा सामान्य अवरुद्ध र हिलाम्मे हुदाँ पैदलयात्रीलाई सकस भएको छ ।

पश्चिम म्याग्दीलाई सदरमुकाम बेनीसँग जोड्ने २४ किलोमिटर लम्बाईको बेनी–दरबाङ सडकका विभिन्न खण्डमा झरेको पहिरोका कारण आवतजावतमा समस्या छ । हरेक बर्ष घुमाउने तालमा सताउने गरेको छ ।

उक्त स्थानमा समान्य बर्षा हुदाँ समेत माथिबाट रेलो आएर सडक बगाउने गरेपनि दिर्घकालिन समाधान हुन सकेको छैन् ।

निरन्तरको बर्षा रोकिएपछि मात्रै जिल्ला प्रशासन कार्यालयको समन्वयमा प्रहरी, स्थानीय तह र पूर्वाधार कार्यालय, निर्माण व्यवसायीमार्फत पहिरो हटाएर सडक मर्मत गरी यातायात आवागमनलाई सुचारु गरिने जनाइएको छ । सडक अवरुद्ध हुदाँ मंगला, मालिका र धवलागिरि गाउँपालिकामा आवतजावत रोकिएको छ ।

Leave a Reply