भिषण बर्षाले गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड अस्तब्यस्त भएको छ । केहीदिन यताको बर्षासँगै सडकखण्डमा बग्ने खोलामा पानीको बाहब बढेपछि म्याग्दी र मुस्ताङखण्ड मंगलबार बिहानदेखि अवरुद्ध भएको छ ।

लगातारको वर्षा, भिरालो जमीन र कमजोर भू–बनावटका कारण रघुगंगा गाउँपालिका–१ बेगखोला,अन्नपूर्ण गापा–३ दानाको रुप्से झरनाका साथै छिमेकी मुस्ताङ जिल्लाको टुकुचे, पाण्डा र मार्फा खोलामा उर्लिएको छ ।

बर्षासँगै रुप्से झरनामा बा १८ च ६९६२ को हाइलक्स फसेको छ । माथिबाट निरन्तर खसेको पहिरोले फसेको सवारीसाधन निकाल्न समस्या भएको स्थानीय पर्यटन ब्यवसायी एवम् बेनी–जोमसोम–कोरला सडकखण्डका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो ।

‘रुप्से झरना अहिले उर्लिएको छ,‘आसपासका क्षेत्र उच्च जोखिममा छ’ शेरचनले भन्नुभयो । माथिबाट ढुङ्गामाटो सहितको लेदो पहिरो खस्दा सडक अवरुद्ध भएकाले बर्षा रोकिएपछि मात्रै सडक मर्मत गरिने जनाइएको छ । मुस्ताङ जोड्ने एकमात्र सडक अवरुद्ध भएपछि आवतजावत रोकिएको छ ।

सडक स्तरोन्नतिका लागि डोजर, स्काभेटर आदिको प्रयोग गरिएपछि वर्षाले हिलाम्ये हुँदा सानाठूला सवारीसाधन हिलोमा फस्ने गरेका छन् । ‘सडकको धरापले यात्रुलाई सास्ती छ, तत्काल मर्मत गरे पनि पुनः खस्ने गरेको छ’ एक् स्थानीयले भने ।

उत्तरी म्याग्दी र मुस्ताङ आवतजावत गर्ने मोटरसाइकल र साना सवारी साधन आवतजावतमा ठूलो जोखिम रहेकाले सतर्कता अपनाउन अन्नपूर्ण गाउँपालिकाले समेत अनुरोध गरेको छ ।

मुस्ताङ जोड्ने सडक रघुगङ्गा गाउँपालिकाको चमेरेदेखि अन्नपूर्ण गाउँपालिकाको गुइँठे, रुप्से झरना, खामाभित्ताको द्वारी खोला र काभ्रेभिरमा धेरै समस्या रहेको छ ।मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किलोमिटर सडकखण्डअन्तर्गत सबैभन्दा जोखिमपूर्ण म्याग्दीको दानादेखि मुस्ताङको घाँसासम्म पर्छ । बर्खाको समयमा यात्रुल ज्यानको बाजी लगाएर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।

Leave a Reply