लगातारको भारी वर्षाले पश्चिम म्याग्दीमा वितण्डा मच्चाएको छ । बर्षासँगै उर्लिएर आएको म्याग्दी खोलाले बेनी नगरपालिका-४ तातोपानीको मसारका १८ घरपरिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ । म्याग्दी खोलाले धारा परिवर्तन गरी बजार जोखिममा परेपछि मंगलबार रातीदेखि नै घर खाली गरिएको छ ।

नदीको कटानले स्थानीय रामबहादुर छन्त्याल, दिनेश केसी,रुद्धबहादुर अर्मजा,गितु जिसी,बुद्धि विक,भुवानी घर्ती,विष्णु सुबेदी,भक्तबहादुर थापा, गौरी किसान,खरबहादुर रोका,थमबहादुर केसी,किरण शाही लगायत थप २ घरपरिवार सहित भाडामा बस्नेलाई समेत नजिकै रहेको सरस्वती मावि सहित आसपासका क्षेत्रमा राखिएको तातोपानी कुण्ड ब्यवस्थापन समितिका सहसचिव कुमार केसीले बताए ।

‘बस्ती नजिकै बनेको पक्की पुलले खोलाको धार परिवर्तन गरेको छ,‘तातोपानी बजार नै उच्च जोखिममा छ’केसीले भने।तातोपानीको खेलकुद मैदानमा खोला बगेको छ भने उपल्लो बजारको तटिय क्षेत्रतर्फ रहेका घर जोखिममा छन्।

म्याग्दी खोलासँगै बेनी-दरबाङ सडकखण्डमा पहिरो र बाढीले समेत बजारलाई असर गरेको छ । खोलामा पानीको सतह नघटेसम्म फर्किने अवस्था नभएको पीडितले बताएका छन् । लगातारको बर्षाले जिल्लाभरको जनजिवन अस्तब्यस्त बनाएको छ । बाढीपहिरोबाट विस्थापितहरूका बारेमा प्रहरीले विवरण संकलन गरिरहेको जनाएको छ भने स्थानीय तहले समेत जोखिममा रहेकालाई सुरक्षित ठाउँमा लैजाने काम गरेका छन् ।

 

Leave a Reply