म्याग्दीको सदरमुकाम बेनीबजारको अस्पताल चोकमा बाढीले पैदलयात्रीलाई समेत आउजाउमा समस्या भएको छ। अस्पताल चोकभन्दा माथिको पाखोबाट झरेको बाढीले अस्पतालमा आउने बिरामीसँगै सर्वसाधारणलाई समेत प्रभावित बनाएको छ ।

ढुङ्गा, माटो, गेगरसहित खसेको बाढीले मंगलबार र बुधबार विहान सर्वसाधारणले नराम्रोसँग सास्ती खेप्नुपरेको थियो भने कालिपुल बसपार्क समेत लेदोसहितको बाढीले भरिएको छ । साइकलमा यात्रा गरिरहेका एक यूवाले तीनपटकको प्रयासमा मात्रै अस्पताल चोकबाट बेनीबजारतर्फ जान सफल भएका थिए। उनीजस्तै धेरै यात्रुले तिब्र बेगमा आएको बाढीबाट सजिलै यात्रा गर्न सकेनन् ।

बेनी नगरपालिका–६ जामुनाखर्कतर्फ जाने ग्रामिण सडकसँगै पुरानो खोल्सालाई अतिक्रमण गरी संरचना बनाउँदा हरेक बर्ष बाढीले अस्पताल चोकमा असर गर्ने गरेको छ ।त्यस्तै बेनीकै क्याम्पसचोक र मंगलाघाटमा समेत माथिल्लो क्षेत्रबाट खस्ने बाढीले असर गरेको छ ।

बेनी–अर्थुङ्गे–पाखापानी सडकखण्ड अन्तर्गत आँपारुख सामुदायिक वन क्षेत्र, बराहपाखो र महारानी मन्दिर आसपासको क्षेत्रबाट आउने बाढीले हरेक बर्ष बाढीले बेनीबजार बासीलाई सताउने गरेको छ । भलले जताततै खोलेकाले आगामी दिनमा ब्यवस्थित संरचना बनाउने तर्फ ध्यान नगए थप क्षती हुने देखिएको छ ।

Leave a Reply