पर्वतको जलजला गाउँपालिकामा सिंचाई कुलो र कच्चि सडकबाट आउने भलबाढीका कारण गाउँनै जोखिममा परेको छ। जलजला गाउँपालिका–७ धाइरिङको किराखोर गाउँ पहिरोको जोखिममा परेको हो ।बस्ती माथीको जमिन भाँसिने र बाढीसँगै पहिरो चल्न थालेपछि स्थानीय घर छोडेर हिँडेका छन् । उनीहरुलाई स्थानीय अम्मर आधारभूत विद्यालयको भवनमा राखिएको छ ।

केही परिवार आफन्तकोमा बसेका छन् । किराखोरका ३१ परिवार विस्थापित भएको वडाअध्यक्ष टुंगनाथ शर्माले बताए ।
बस्तीको दुवैतर्फबाट बग्ने खहरेमा भल आउँदा बस्तीमा पस्ने र पहिरो जाने गरेको छ । धाइरिङको तल्लो खण्डमा दुई, निवारेमा दुई घर विस्थापित भएका छन् ।

लालुङमा एक घर भत्किएको वडा अध्यक्ष शर्माले बताए । धारापानीसहित वडाका विभिन्न ठाउँमा ४० घरपरिवार पहिरोबाट प्रभावित भएका छन ।‘हरेक बर्खा बस्ती छोडेर हिँड्नुपर्ने अवस्था आउँछ’ शर्मा भन्छन् ‘कच्चि सडक र सिंचाई कुलोहुँदै आउने बाढीले उठिबास लगायो ।’ बुढीकुलो र सडकबाट आउने बाढीले गुन्द्रेखेतको बस्ती जोखिममा परेको छ । सल्यान गगनपानीमा करिब ५ सय रोेपनी खेत गेगरमा परिणत भएको छ ।

बाढीले पोल ढलाएपछि किराखोर क्षेत्रमा विद्युत अवरुद्ध भएको छ । लुङ्दीखोलाको बाढीले मिलनचोक र लस्तीखोलाको बाढीले लस्ती बजार कटानको जोखिममा परेपछि त्यहाँका नागरिक र सामान जनप्रतिनिधी, युवा, अगुवा र स्थानीयवासीले सारेका थिए ।

लगातारको वर्षाले घर भत्किएपछि लामाबगरको एक परिवार विस्थापित भएको छ । बागलुङ काठेखोला गाउँपालिका वडा नं. ७ रेश बागलुङका विरबहादुर जिसी उक्त घरमा करिब ३ वर्षदेखि बस्दै आएका थिए । घर भत्किएपछि जिसीलाई राष्ट्रिय युवा संघ जलजलाका युवाहरूले उद्घार गरेका थिए । बेसहारा बनेका जिसीलाई थप क्षति हुन सक्ने भन्दै संघले बागलुङको मानवसेवा आश्रमसंग समन्वय गरि बस्ने व्यवस्था गरेको संघका जिल्ला सचिवालय सदस्य विकाश गिरी बताए ।

Leave a Reply