निरन्तरको वर्षाका कारण म्याग्दीको मंगला गाउँपालिकामा २१ घर परिवार विस्थापित र २५ घरधुरी उच्च जोखिममा छन्। गत सोमबारदेखि निरन्तर परेको भारी वर्षाका कारण घर माथि र तलबाट खसेको पहिरोले २१ परिवारले घर छोडेर अन्यत्र आश्रय लिएर बस्न बाध्य भएको गाउँपालिका उपाध्यक्ष सिर्जना केसीले बताउनुभयो ।

‘विस्थापितको संख्या बढ्दै छ,‘बाढीपहिरोको जोखिममा रहेका घरहरू धेरै छन्’ उपाध्यक्ष केसीले भन्नुभयो ।  गाउँपालिकाले संकलन गरेको तथ्याङ्कमा वडा नं १ कुहुँमा ४ घर, वडा नं २ बावियाचौरमा ५, वडा नं ४ बरंजामा ६ घरपरिवार र वडा नं ५ मा अर्मनमा ६ घरधुरी विस्थापित भएका छन् । विस्थापित भएका अधिकांसको घर पूर्ण क्षति र केहीको आशिंक क्षति भएको छ ।

पहिरोले बरंजाको सामुदायिक भवनभित्र रहेको सामान सहित करिब ३० लाखभन्दा बढीको क्षती भएको गाउँपालिकाले जनाएको छ । सामुदायिक भवनमा आमा समुह सहित समुदायले जुटाएको साम्रागीहरू पूर्णरुपमा नष्ट भएको छ । त्यस्तै अर्मन किमचौरको विष्णु राष्ट्रिय आमाविको दुई कोठे भवन, बरंजा धापुङको शिवालय आमाविको भवनमा क्षती पुगेको स्थानीय जनप्रतिनिधिको भनाई छ ।

घरमा क्षति पुगेर विस्थापित भएकाहरू आफन्त, छिमेकी र सामुदायिक भवनमा बसेका छन् । बाढीपहिरोले पशुचौपाया समेत मरेको जनाइएको छ । पहिरो खस्दा घर उच्च जोखिममा परेपछि सुरक्षित स्थानमा सार्ने र आवश्यक राहत सहितको सामान जुटाउने कार्य भइरहेको छ ।

Leave a Reply