म्याग्दीको मंगला गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटरसहित स्वास्थ्य सामग्री सहयोग गरिएको छ । तुसारेपानी घर भई हाल अस्ट्रेलियामा रहनुभएका मुक्ति रोका, छकेन्द्र पुन र गंगाराज न्यौपानेको पहलमा ३ थान कन्सन्ट्रेटरस,भोल्टेज रगुलेटर र १ हजार थान एन ९५ मास्क गाउँपालिका उपाध्यक्ष सिर्जना केसी, वडा अध्यक्ष डेकबहादुर राम्जाली लगायतको उपस्थितीमा हस्तान्तरण गरिएको छ ।

काठमाडौं स्थित माउण्ट हर्ट नेपालका अध्यक्ष डा.अवन गौतमले उपलब्ध गराएको उपकरणलाई गाउँसम्म ढुवानी गर्न मुक्ती रोकाले हेलिकप्टर सौजन्य गर्नुभएको थियो । यसअगाडी समेत समाजसेवी रोकाले तुसारेपानीका सबै घरधुरीमा पुगेर प्रति घर एक थान सेनिटाइजर, ३० पिस मास्क, ज्वरो र पखाला लागेको बेलामा प्रयोग गर्ने औषधी सहयोग गर्नुभएको थियो ।

स्थानीय मनकामना यूवा क्लव र आमा समुहको भवनमा आयोजित हस्तान्तरण कार्यक्रममा शरीरमा अक्सिजनको अभाव भएपछि स्वास्थ्य चौकीमा सहजै अक्सिजनको सुविधाका लागि उक्त सहयोग गरिएको बताइएको थियो।

वडाभित्र अक्सिजनको सिलिण्डरभन्दा बिरामीको सहजताका लागि कन्सन्ट्रेटर उपयोगी हुने स्वास्थ्यकर्मीको भनाई थियो ।अक्सिजन कन्सन्ट्रेटरले वरपरको हावालाई फिल्टर गरेर त्यसबाट शुद्ध अक्सिजन बिरामीसम्म पुर्याउछ ।

हावामा भएका बिभिन्न ग्यासमध्ये अक्सिजन छुट्याउँछ र बिरामीलाई ९५ प्रतिशतसम्म शुद्ध अक्सिजन दिन्छ । हावामा झन्डै २१ प्रतिशत अक्सिजन, ७८ प्रतिशत नाइट्रोजन र अरु अन्य ग्यास हुनेमा यस डिभाइसले जसलाई शुद्ध गरेर ९० प्रतिशत भन्दा बढी अक्सिजन दिन्छ ।

मानिसको शरीरमा ९० प्रतिशतभन्दा तल अक्सिजनको लेबल देखिएमा तत्काल सिलिण्डर वा कन्सन्ट्रेटरको सहायतामा अक्सिजनको मास्क मुखमा लगाउनुपर्छ ।

Leave a Reply