म्याग्दीको बेनी नगरपालिका-५, पुलाचौरमा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि टोल र वस्ती स्तरबाट सङ्कलित योजनालाई पाँचौं वडा भेलामार्फत प्राथमिकतासहित छनोट गर्न गोष्ठी आयोजना गरिएको हो ।

बेनी नगरपालिकाले आगामी आवका लागि टोल तथा वस्तीबाट योजना छनोट गर्न पुलाचौर, भकिम्ली र घतानलाई भूगोल र जनसङ्ख्याको आधारमा ७० लाखको बजेट सिलिङ पठाएको छ । सोही बजेटको आधारमा वडाका जनप्रतिनिधिहरु वस्ती स्तरमा पुगेर स्थानीयको माग र आवश्यकताअनुसार योजना सङ्कलन गरेर ल्याएको हुँदा सङ्कलित योजना छनोट गरिएको वडा कार्यालयले जनाएको छ ।

भेलालाई सम्बोधन गर्दै स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले बजेटको सिलिङ थोरै भए पनि दीगो र प्रभावकारी हुने गरी विकास निर्माणमा बजेट विनियोजन गर्न जनप्रतिनिधिलाई सुझाव दिए । उनीहरुले वडा भित्रका जनताको माग र चाहनाअनुसार आएका योजनालाई प्राथमिकिकरण गरी छनोट गरेर बजेट विनियोजन गर्नुपर्ने माग गरेका थिए ।

भेलाको समापन गर्दै पुलाचौरका वडा अध्यक्ष लक्ष्मण बानियाँले वडामार्फत स्थानीय जनताको आवश्यकतालाई पूर्ति गर्नेगरी योजना छनोट र बजेट विनियोजन गरिने बताए । उनले वडाको समस्या समाधान गर्नका लागि आफूहरु प्रतिबद्ध रहेको बताउँदै प्राप्त बजेट वडाभित्र विकास निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानीलगायत अति आवश्यक क्षेत्रमा विनियोजन गरी परिचालन गरिने बताएका छन् ।

भेलामा पूर्व गाविस उपाध्यक्ष एवं नेकपा एमाले पुलाचौर गाउँ कमिटी अध्यक्ष भोजबहादुर कार्की, नेपाली कांग्रेस पुलाचौरका सभापति तेजप्रकाश बानियाँ, राप्रपाका प्रतिनिधि श्यामप्रसाद श्रेष्ठ, वडा सदस्य रामप्रसाद सुवेदी र पौलस्त्य माध्यमिक विद्यालय भीरमुनीका शिक्षक गजिन्द्र श्रेष्ठले मन्तव्य राखेका थिए । कार्यक्रम वडा सचिव कृष्णबहादुर बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply