बेनी नगरपालिका-५, पुलाचौरमा सञ्चालित जनकल्याण माध्यमिक विद्यालयले शुक्रबार आफ्नो ६४औं जन्मजयन्ती मनाएको छ । २०१४ साल असार ४ गते आजैका दिन स्थापना भएको विद्यालयले ६३ वर्ष पुरा गरी ६४ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी जन्मजयन्ती मनाएको हो ।

जन्मजयन्तीको अवसर पारेर विद्यालयले अन्तत्र्रिया, सम्मान तथा विद्यालय प्राङ्गणमा सरसफाई कार्यक्रम गरेको जनाएको छ । कार्यक्रमको उद्घाटन गर्दै बेनपा–५, पुलाचौरका वडा अध्यक्ष लक्ष्मण बानियाँले शैक्षिक गुणस्तर वृद्धि गर्नेतर्फ विद्यालयले ध्यान दिनुपर्ने बताए । उनले पछिल्लो समय विद्यालयले प्रगति हासिल गर्दै गएको बताउँदै विद्यालयको विकासमा आफूले सक्दो सहयोग गर्ने बताएका छन् ।

विद्यालयका निवर्तमान अध्यक्ष रामप्रसाद सुवेदीले आफ्नो कार्यकालमा भौतिक तथा आर्थिक विकासका साथै शैक्षिक गुणस्तर वृद्धिमा जोड दिएको बताए । विद्यालयका वर्तमान अध्यक्ष गोपाल बानियाँले जनकल्याण मावि अक्षयकोषको रकम वृद्धि गर्दै लगिने बताउँदै विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा समेत जोड दिइने बताए ।

जन्मजयन्तीको अवसर पारेर विद्यालयले भूपू प्रधानाध्यापक खेमराज पौडेललाई विद्यालयमा लामो समय सेवा गरेको भन्दै ‘दिर्घसेवी’ सम्मानबाट पुरस्कृत गरिएको थियो । उनलाई अबिर लगाई खादा र दोसल्ला ओढाएर सम्मानपत्र र डायरी प्रदान गरी सम्मान गरिएको विद्यालयले जनाएको छ । कार्यक्रममा सम्मानित व्यक्तित्व खेमराज पौडेल, शिक्षक प्रकाश सुवेदी र शिक्षक अभिभावक संघका सदस्य गजिन्द्र श्रेष्ठले मन्तव्य राखेका थिए ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल बानियाँको अध्यक्षता, प्रअ कमलप्रसाद पौडेलको स्वागत र शिक्षक शान्ति शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । कुल २ सय ७२ जना विद्यार्थी अध्ययनरत यस विद्यालयमा मावि राहतका ३, निमावि १, कक्षा ११÷१२ मा निजी १, निमावि दरबन्दी ३, प्रावि ६, विद्यालय कर्मचारी १, बालकक्षा शिक्षक १ र कार्यालय सहयोगी १ गरी १७ जनाको जनशक्ति परिचालित रहेको छ ।

Leave a Reply