धार्मिक पर्यटनको हिसाबले विश्वकै ध्यानाकर्षण गर्न सक्ने सम्भावना बोकेको म्याग्दीको एक महत्वपूर्ण पौराणिक स्थल बेनी नगरपालिका–५ पुलाचौरस्थित पुलाडाँडानजिक पछैमा रामायण पार्क (उद्यान) निर्माणको प्रक्रियामा प्रवेश गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको साझेदारीमा पौराणिक लंकाका राजा रावण जन्मिएको क्षेत्र भनेर श्रीमद्भागवत महापुराणमा समेत उल्ल्लेख गरिएको पौलस्त्य पुलहाश्रम क्षेत्रमा रामायण पार्क बनाउन विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेर कार्यान्वयनमा लगेको हो ।

करिब एक दशक अगाडी चर्चामा आएको रामायण पार्कलाई बेनी नगरपालिकाले दिर्घकालिन योजनामा राखेर डिपिआर तयार र बजेटको व्यवस्थापन गरेर ठेक्का प्रक्रियामार्फत रामायण पार्क निर्माण गर्ने चरणमा रहेको मेयर हरिकुमार श्रेष्ठले बताए ।

यो पुरानो भिडियो हो ।

शनिबार पछैमा आयोजित कार्यक्रममा मेयर श्रेष्ठले पहिलो चरणमा रावणको मुर्ति, बगैँचा, विश्रामस्थल लगायतका पूर्वाधार तयार पार्न पर्यटन मन्त्रालयले दुई करोड ११ लाख र नगरपालिकाले एक करोड १४ लाख विनियोजन गरेको बताए। ‘नेपाल बाहिर रहेका हिन्दु धर्मालम्बीलाई यहाँसम्म आउने गरी थप योजना बनाउँछौ,‘थप बजेटका लागि थप पहल गरिने छ’ मेयर श्रेष्ठले भने ।

उक्त क्षेत्रलाई हिन्दुहरूको धार्मिक ग्रन्थ रामायणमा वर्णन गरिएका वीर, पराक्रमी र तत्कालीन महान वैज्ञानिक रावणको जन्म यही ठाउँमा भएको थियो भनेर श्रीमद्भागवत महापुराणलगायत अनेकौं धार्मिक ग्रन्थमा वर्णन गरिएको छ । एकदशक अगाडी म्याग्दी उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष प्रमोदकुमार श्रेष्ठको नेतृत्वमा केबल कार, कालोपत्रे सडक, पदमार्ग सहितको योजना परिकल्पना गरेका थिए ।

करिब १४ रोपनी क्षेत्रफलमा फैलिएको पुलह पुलत्स्य क्षेत्रको चार रोपनीमा रामायण पार्क बनाउन लागएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बताए । उनका अनुसार मन्दिर, हवन कुण्ड, रावणको नाभी गाडेको ठाउँलाई यथावत राखेर पूर्वाधार बनाइने छ भने पौराणिक महत्व झल्कने किसिमको रावणको आकर्षक मुर्ति राख्ने, बगैँचा निर्माण, नाभी गाडेकोलगायत ठाउँको संरक्षणका लागि पूर्वाधार र २०० मिटर कालोपत्रे गर्ने योजना छ ।

कुल २३ करोड लागत अनुमान गरिएको उद्यान दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । जिर्ण अवस्थामा रहेको मन्दिर सहित आल निर्मित संरचनाको पुलह पुलस्त्य क्षेत्र विकास कोषका अध्यक्ष लिलाबहादुर बानियाँको नेतृत्वमा महायज्ञ सञ्चालन गरी निर्माण गरिएको थियो । कोषका अध्यक्ष बानियाँले भारत, भुटान र श्रीलंकका हिन्दुधर्मालम्बीलाई भित्राउन सहज हुने बताए । ‘नेपालभित्र भन्दा बाहिर यहाँको महत्व छ,‘थप योजना सहित हामी अगाडी बढ्नेछौ’ अध्यक्ष बानियाँले भने ।

मुक्तिनाथ प्रवेशद्वार गलेश्वर, पुलाचौरको पछै, जगन्नाथ र टोड्के क्षेत्रलाई समेटेर धार्मिक करिडोर बनाउने योजना पनि अघि सारिएको प्रतिनिधिसभाका निवर्तमान सदस्य भुपेन्द्र थापाले बताए । पार्क बनाउन स्थानीयबासीले समेत थप सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उक्त स्थानमा सदरमुकाम बेनीबाट करिब डेढ घण्टाको पैदलयात्रा र गाडीमा ४५ मिनेटको यात्रा गरी पुग्न सकिन्छ । पौलस्त्य मन्दिर पुग्न बेनीदेखि पक्की पदमार्ग निर्माण थालिएको छ ।

यस्तो छ धार्मिक महत्व
रामायणमा ‘खल’ पात्र बनाइएका रावणको जन्मभूमि मानिएको एवं हिन्दुको पवित्र धार्मिक ग्रन्थ श्रीमद्भागवत महापुराणमा उल्लेख गरिएका विश्वका १५ पवित्र तीर्थस्थलमध्ये एउटा म्याग्दीको पौलस्त्य आश्रम प्रचारप्रसार र भौतिक पूर्वाधार अभावमा गुमनाम थियो ।

श्रीमद्भागवत महापुराणको सप्तम स्कन्दको अध्याय १४ को दण्डकका अनुसार पुलस्त्य पुलहाश्रम क्षेत्र विश्वका अति पवित्र १५ तीर्थस्थलमध्ये एक मानिन्छ। श्रीमद्भागवत महापुराणमा कुरूक्षेत्र, गया, प्रयाग, पुलस्त्य पुलहाश्रम, नैमिषारण्य, फाल्गुतीर्थ, रामेश्वरम्, प्रभास, कुशस्थली, वाराणसी, मधुपुरी, पम्पासरोवर, नारायणाश्रम, विन्दु सरोवर र सीताराम आश्रमलाई विश्वकै १५ अति पवित्र तीर्थस्थल भनिएको छ।

पुराणप्रसिद्ध ३ ऋषिहरू पुलह, पुलस्त्य र विश्रवा म्याग्दी पुलाको पछैमा अध्ययन र चिन्तनमनन गर्दै बसेको पुराणमा उल्लेख छ।

पुराणका अनुसार विश्रवा ऋषिको छोरा रावणको जन्म यही पुलस्त्य आश्रममा नै भएको उल्लेख छ । सत्ययुगमा पुलह र पौलस्त ऋषिले यहाँ तपस्या गरेर हवन (यज्ञ) गर्न लाग्दा पानी पर्न थालेको उल्लेख पाइन्छ। ऋषिद्वयले इन्द्रसँग प्रार्थना गरेर यज्ञ सम्पन्न भएपछि मात्र वर्षा गराउन आग्रह गरेपछि धेरै समयपछि मात्र पानी परेको शास्त्रमा वर्णनमा समेत पढ्न पाइन्छ । रावण जन्मेर हुर्के बढेको ठाउँ पनि पुलस्त्य आश्रम नै भएको पुराणहरूमा उल्लेख छ।

पछि रावणले मुस्ताङ थाकखोलाकी थकालीकी छोरी मन्दोदरी लाई विवाह गरी कालान्तरमा लंकाको राजा भएको पौराणिक ग्रन्थहरूमा उल्लेख पाइन्छ। पुलहाश्रम छेवैको ओढारमा अहिले पनि त्यतिबेला होम गरिएका धान र जौका चरु भेटिने गरेको छ।

ओढारभित्र यज्ञका अवशेष चरु भेटिनुले पनि यो ठाउँको महत्व उजागर गरेको स्थानीयको भनाई छ ।पौलस्त्य मन्दिर नजिकै रावणको नाभी गाडिएको ढुंगा (पत्थर) समेत छ। पौलस्त्य–पुलहाश्रम मन्दिरबाट सदरमुकाम बेनीबजार, लभ्लीहिल, पर्वतको मल्लाज क्षेत्र, मिलनचोक बजार, माछापुच्छ्रे, अन्नपूर्ण, निलगिरिलगायत मनोरम हिमशृंखला देखिन्छन्।

 

Leave a Reply