---Advertisement---

एकसाता पछि फापरखेतको अवरुद्ध हट्यो, बेनी-दरबाङ सिधा सञ्चालको प्रयास

On: June 20, 2021 8:06 PM
Follow Us:

निरन्तरको बर्षासँगै कारण एकसातादेखि अवरुद्ध भएको बेनी–दरबाङ सडकखण्डअन्तर्गत बेनी नगरपालिका–४,फापरखेतको अवरुद्ध हटेको छ।

बर्षाले सडक बगाएपछि पश्चिम म्याग्दी क्षेत्रका तीन वटा गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडक सञ्जाल विच्छेद भएपछि नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना सहित स्थानीयबासीको सक्रियतामा सडक मर्मत गरिएको थियो ।

बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा पर्ने उक्त पहिरोले बर्खामा निरन्तर सताउने गरेपनि तत्काल बैकल्पिक मार्ग नभएकाले मर्मत गरी सञ्चालनमा ल्याइएको प्रजिअ गणेशबहादुर अधिकारीले बताउनुभयो ।

‘बर्षा रोकिएपछि अवरुद्ध भएका सडकको आवश्यकता अनुसार मर्मत गर्नुपर्छ,‘अवरुद्ध भएका अन्य स्थानमा पनि टोली खटिएको छ’ प्रजिअ अधिकारीले भन्नुभयो । २४ किलोमिटर दुरीको बेनी–दरबाङ सडकको मंगला गाउँपालिका–२ सिम–ताराखेतमा समेत मर्मतकार्य अन्तिम चरणमा पुगेको छ ।

प्रजिअ अधिधारीका अनुसार दरबाङसम्म पुग्ने विभिन्न स्थानमा पहिरोले अवरुद्ध गरेकाले स्थलगत निरिक्षण सहित मर्मत हुने बताउँदै धेरै प्रयोग हुने जिल्लामा मुख्य सहितका सडकहरु मर्मतका लागि आवश्यक समन्वय गरिएको बताउनुभयो।

माथिबाट खसेको रेलोले सडकको बेस नै भत्काएपछि मर्मतका लागि जिसस प्रमुख देबेन्द्रबहादुर केसी, प्रजिअ गणेशबहादुर अधिकारी, प्रहरी नायव उपरीक्षक श्यामकुमार राई, शसस्त्र डिएसपी हरि गुरूङ, नेपाली सेनाका सेनानी रबिन्द्र बुढाथोकी सहितको टोलीले समेत पहिरोस्थलको अवलोकन गर्नुभएको थियो । मर्मतकार्यमा तातोपानीका यूवाहरूले समेत श्रमदान गरेका थिए । लगातारको बर्षाले जिल्लाको मुख्य सडकमा यातायात सेवा ठप्प बनेका छन्।