कोरोना भाइरसको दोस्रो भेरियन्टको नियन्त्रणका लागि गरिएको निषेधाज्ञा र बाढी पहिरोको असहज अवस्थाका बीच म्याग्दीमा नयाँ पाठ्यपुस्तक आइपुगेको छ । नेपाल सरकारले असार १ गतेदेखि भर्ना अभियान सञ्चालन गर्न निर्देशन जारी गरेसँगै पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, म्याग्दीले सदरमुकाम बेनीमा सामुदायिक विद्यालयको पुस्तक भित्र्याएका हुन् ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको पोखरा स्थित क्षेत्रीय कार्यालयसंग समन्वय गरे कक्षा १ देखि १० सम्मको पुस्तक आयात गरिएको म्याग्दी पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ म्याग्दीका अध्यक्ष नवराज पौडेलले बताए । ‘दुर्गमका विद्यालयलाई प्राथमिकता दिएर ढुवानी सुरू गरेका छौ,‘९० प्रतिशत पुस्तक आइसकेको छ’ अध्यक्ष पौडेलले भने ।

उनले जिल्लाको ग्रामिण क्षेत्रमा भौगोलिक विकटता र प्रबिधिको पहुँचका कारण अनलाइनको माध्यमबाट पठनपाठन सञ्चालन गर्न चुनौति भइरहेको अवस्थामा समयमै पुस्तक उपलब्ध भएकाले सहज हुने अपेक्षा गरे। महासंघले पुस्तक वितरणलाई व्यवस्थित बनाउन बेनीमा बिक्री केन्द्र स्थापना गरेको छ । पुस्तक अभाव र पूर्ण सेटमा नपाउने समस्या हुन नदिनका लागि शैक्षिक सत्र सुरु हुनु अघिनै ढुवानी र वितरण गरिने पुस्तक ढुवानी तथा ब्यवस्थापन संयोजक एवम् पूर्व अध्यक्ष ठाकुर शर्माले बताए ।

कक्षा ५ देखि १० सम्मको लागि जनक शिक्षा सामग्रीबाट ७६ लाख बराबरको र कक्षा १ देखि ४ सम्मको निजी प्रकाशन गृहबाट ३६ लाख बराबरको पुस्तक खदिर गरिएको छ। २३२ वटा सामुदायिक विद्यालय भएको म्याग्दीमा पुस्तक खरिदमा यस वर्ष एक करोड १२ लाख खर्च हुने जनाइएको छ ।

एउटा कक्षाका लागि एक हजार सात सय देखि दुई हजार सेट पुस्तक आवश्यक पर्छ । कोरोनाको जोखिम, लम्बिदो निषेधाज्ञाले तत्कालै विद्यालय खुल्ने सम्भावना नभएपनि पुस्तक पाएपछि विद्यार्थीलाई स्वअध्ययनको वातावरण बन्ने बताइएको छ ।

यता समयमै पुस्तक उपलब्ध भएपछि विद्यार्थीलाई नयाँ पाठ्यपुस्तक उपलब्ध गराएर विद्यालय नखुलेपनि घरमै बसेर पढ्ने वातावरण बन्ने दिपशिखा मावि कुहुँका प्रधानाध्यापक नन्दबहादुर खत्रीले बताए । ‘अनलाइन कक्षा सञ्चालनमा पनि विद्यार्थीको हातमै पुस्तक हुदाँ सहज हुन्छ,‘पुस्तक समयमै आइपुग्दा धेरै सहज हुन्छ’ प्रअ खत्रीले भने ।

विद्यार्थीहरुले घरमै बसेर पढ्ने, अभ्यास गर्ने, सिकाइ वृद्धि र विद्यालय खुलेपछि व्यवस्थापन गर्न सहज हुने भएकाले समयमै विद्यार्थीको हातहातमा पुस्तक पु¥याउने विद्यालयका प्रधानाध्यापकले बताएका छन् । म्याग्दीका पुस्तक ब्यवसायीको सामुहिक लगानीमा समयमै पुस्तक ल्याउने प्रयासले पछिल्लो तीनबर्ष यता शैक्षिक सत्र अगाडी नै पुस्तक विद्यालयमा पुग्ने गरेको छ ।

 

Leave a Reply