बेनी नगरपालिका-३,भकिम्लीबासीको सक्रियतामा स्थापना भएको आपत्कालिन कोषमा अष्टे«लियामा रहेका भकिम्लीबासीले साढे ३ लाखभन्दा बढी सहयोग गरेका छन् ।

प्राकृतिक विपत्ती, स्वास्थ्य उपचार, राहत तथा कुनैपनि आपत्कालिन समस्या परेका गाउँलेलाई दिर्घकालिन रुपमा सहयोग गर्ने गरी घोषणा गरेको कोषमा भकिम्लीबाट अष्टे«लिया गएका लालबहादुर छन्त्याल र रुपा घर्ती मगरको अगुवाईमा संकलन भएको ३ लाख ६१ हजार ९२८ रुपैयाँ हस्तान्तरण गरिएको छ ।

स्वास्थ्य चौकीमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा स्थानीय दिलबहादुर घर्ती राना र यूवा पूर्णबहादुर पुनले वडा अध्यक्ष पदम पुनलाई उक्त रकम हस्तान्तरण गर्नुभयो ।

यसअगाडी कोषमा जापानबाट २ लाख ७४ हजार ५६१, मलेसियामा रहेका जयन्ती मावि भूपु विद्यार्थीहरुबाट १ लााख ८७ हजार ८८० र यूके, बेल्जियम र स्पेनबाट १ लाख ६५ हजार ७४० जम्मा भइसकेको छ।

सोही अवसरमा वडा अध्यक्ष पुनले प्रवासमा रहेका भकिम्लीबासीबाट सधै सहयोग जुटाउनुपर्ने अवस्थाको अन्त्य गर्न भकिम्ली राहत कोषको स्थापनाको अभियान सुरू गरेको बताउनुभयो । ‘कार्यविधि बनाएर अप्ठ्यारोमा परेका सहयोग गर्नेछौ,‘कार्यविधिले तोकेकालाई मात्रै कोषबाट सहयोग हुन्छ’ अध्यक्ष पुनले भन्नुभयो ।

कोषले विपन्नको हरेक प्रकारको उपचारमा सहयोग, राहत तथा स्वास्थ्य संस्था तथा अस्पताल पुग्न नसक्ने गरिब विपन्न वर्गका यातायातको साधनको समेत ब्यवस्था गरिने, अत्यावश्यक सामग्री खरिद लगायत विविध पक्षमा केन्द्रित हुने जनाइएको छ । भकिम्लीबासीले आपत्कालिन कोषलाई तत्काल २० लाख बनाउने लक्ष्य लिएका छन्।

कोष स्थापना गर्न पहिलो चरणमा उठेको रकमलाई वित्तिय संस्थामा जम्मा गरिएको छ भने कार्यविधि बनाउन वडा सचिव प्रकाश आचार्यको संयोजकत्वमा स्वास्थ्य चौकीका इन्चार्ज धिरजकुमार शाह, सिनियर अनमी तारा बुढाथोकी, जयन्ती माविका शिक्षक भोजबहादुर जिसी र स्थानीय अगुवा यूवा पुर्णबहादुर पुन रहेका उपसमितिले बनाउँदै छ ।

Leave a Reply