गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दीले जिल्लामा कार्यक्रम सञ्चालन गर्दा गैसस महासंघको सिफारिसमा गर्नुपर्ने माग गरेको छ ।  मङ्गलबार गैसस म्याग्दीको आयोजनामा सम्पन्न भर्चुअल माध्यमको कार्यक्रमपछि महासंघले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।

अन्तर्राष्ट्रिय गैससहरुले स्थानीयस्तरमा कार्यक्रम सञ्चालन गर्ने, कार्यालय राख्ने तर बोर्ड नराख्ने जस्ता कार्यहरु गरेको पाइएको गैरसरकारी संस्था महासंघ म्याग्दीले विज्ञप्तिमा जनाएको छ।

म्याग्दी जिल्लामा कार्यरत तथा अब भित्रिने सबै अन्तर्राष्ट्रिय गैससहरुलाई अनिवार्य रुपमा गैसस महासंघको कार्यक्रम सञ्चालन सिफारिस समेतमा स्थानीय गैससमार्फत मात्र सञ्चालन गर्ने व्यवस्थाका लागि सम्बद्ध सबै पक्षलाई अनुरोध गरिएको छ ।

हाल जिल्लामा सञ्चालनरत अन्तर्राष्ट्रिय गैससहरुलाई गैसस महासंघको सिफारिसमा स्थानीय गैससमार्फत कार्यक्रम सञ्चालनका लागि रुपान्तरित हुन अनुरोध गरिएको गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष दिपक पौडेलले हस्ताक्षर गरी जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

गैसस महासंघको अनुरोधलाई वेवास्ता गरेको खण्डमा थप गतिविधि अगाडि बढाउन आफूहरु बाध्य हुने सो विज्ञप्तिमार्फत जनाइएको छ । साथै महामारीका रुपमा फैलिएको कोभिड–१९ को रोकथाम तथा न्युनीकरणमा प्रत्यक्ष र अप्रत्यक्ष संलग्न गैससकर्मीहरुलाई पनि यथाशीघ्र खोपको व्यवस्था गर्न नेपाल सरकारसमक्ष माग गरिएको छ ।

नेपालको संविधान तथा समाजकल्याण परिषदको ऐनमा समेत व्यवस्था भएअनुसार नेपालमा कार्यरत अन्तर्राष्ट्रिय गैससहरुले समाजकल्याण परिषदको स्वीकृतीमा स्थानीयस्तरमा स्थानीय सामाजिक संघसंस्थासँगको सहकार्यमा कार्यक्रम सञ्चालन गर्नुपर्ने प्रावधान रहेको विज्ञप्तिमा उल्लेख छ । यस्तो व्यवस्था हुँदा पनि म्याग्दीमा सञ्चालित केही गैससहरुले आफ्नो हिसाबले कार्यक्रम गरिरहेको गैसस महासंघको भनाइ छ ।

Leave a Reply