धौलागिरी अस्पतालमा अक्सिजन प्लान्ट थप गर्न कम्तीमा दुई महिना समय लाग्ने भएको छ । द्रुत गतिमा काम थालिएको भएपनि प्लान्ट निर्माणका लागि निर्माण कम्पनीले दुई महिनाको समय मागेको हो ।
अर्थको स्वीकृतीमा स्वास्थ्य मन्त्रालय र स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशले बजेटको सुनिश्चितता गरेपछि प्रक्रिया अघि बढेको थियो । झण्डै तीन करोडको लागतमा अक्सिजन प्लान्ट निर्माणको प्रक्रिया सुरु भएको एक महिनामा नै निर्माण सम्पन्न गर्ने अस्पतालको लक्ष्य थियो । तर, बजेट प्राप्त भैनसकेको र आर्थिक बर्षको अन्तमा योजना सम्झौता गर्नुपरेका कारण निर्माण व्यवसायीले लामो समय माग गरेको अस्पताल प्रशासनले जनाएको छ ।
‘असार ६ गते सम्झौता भएको छ, कम्तीमा ४० र बढीमा ६० दिन समय लाग्ने निर्माण कम्पनीले जानकारी गराएको छ’ अस्पतालका लेखा अधिकृत झलक आचार्यले भने ‘विनियोजन समयमा आए यो बर्ष प्रारम्भिक कामको भुक्तानी मात्रै दिन सकिन्छ ।’ स्वास्थ्य मन्त्रालयले बजेटको सूनिश्चितता गरेको भएपनि अहिलेसम्म निकासा पठाएको छैन ।
प्लान्ट निर्माणको जिम्मेबारी पाएको आरोग्य मेडिटेक प्रा.लि.लाई पहिलो किस्ताको रकम समेत दिन नसकिएको अस्पतालले जनाएको छ । २ करोड ३२ लाखमा कम्पनीले प्लान्ट निर्माणको जिम्मेबारी पाएको हो । तीन करोड बजेटमध्ये बाँकी रकमले अक्सिजन प्लान्टका लागि आवश्यक पूर्वाधार निर्माणको काम गरिने छ ।
‘पहिलो किस्ताको २० प्रतिशत रकम दिनुपर्ने व्यवस्था छ तर निकासा आएको छैन’ व्यवस्थापन समितिका सदस्य शालिग्राम शर्माले भने ‘अर्को आर्थिक बर्षमा जाँदा बजेटको झमेला हुनसक्छ ।’
चालु आर्थिक बर्षमा नै प्लान्ट निर्माणको काम सम्पन्न नहुने भएपछि अस्पतालले आगामी आ.वको लागि समेत बजेटको व्यवस्थापन गरिदिन मन्त्रालयलाई जानकारी गराएको छ । असार मसान्तभित्र विनियोजित बजेट पठाए पनि निर्माणको काम नसकिँदा अर्को बर्षमा दायित्व सर्ने छ । यो बर्षको बजेट फिर्ता जाने र अर्को बर्ष बजेट नभए प्लान्ट निर्माणमा समस्या हुने व्यवस्थापनको ठहर छ ।
अस्पतालमा यसअघि २० जना सम्मका लागि पुग्ने अक्सिजन प्लान्ट छ । यस पटक १ सय ५० जनालाई पुग्ने र १ सय थान शिलिण्डर प्रतिदिन भर्न मिल्नेगरी प्लान्ट निर्माणको काम थालिएको हो । मन्त्रालयले भने दायित्व सिर्जना भएपछि भुक्तानी पठाउने भनेको छ । ‘अनुमति पाएकाले टेण्डर गरेर काम अघि बढेको छ, दायित्व सिर्जना भएको लेखी पठाएका छौं’ आचार्य भन्छन् ‘बजेटको समस्या नआए दुई महिनामा प्लान्ट तयार हुन्छ ।’ अस्पतालमा अहिले पनि १५ जना कोरोना संक्रमण भएर गम्भिर अवस्थाका बिरामीले उपचार गराईरहेका छन् । मौजुदा प्लान्टमा उत्पादन भएको अक्सिजनले नपुगेर सिलिण्डरमार्फत अक्सिजन दिईंदै आएको छ ।

Leave a Reply