जलजला गाउँपालिकाको आगामी बजेट, नीति तथा कार्यक्रमले महामारी र विपत व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ । वुधवार सम्पन्न दशौं गाउँ सभामा आगामी आर्थिक वर्ष ०७८/७९का लागि प्रस्तुत बजेट, नीति तथा कार्यक्रमले नागरिकको स्वास्थ्य र जीवन रक्षाको लागि प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको हो । गाउँपालिकाले प्रस्तुत गरेको रु.४५ करोड, १५ लाख ५० हजार रुपैयाँको बजेटमा ५०० मजदूरहरूका लागि मजदुर सञ्चयकोष कार्यक्रम पास गरेको छ ।

श्रम गरेर जीविकोपार्जन गर्दै आएका गाउँपालिकाभित्रका पाँच सय मजदूरलाई पहिलो चरणमा यो सञ्चयकोष कार्यक्रममा सहभागी गराइने र क्रमशः बाँकी मजदूरलाई समेत यो कार्यक्रममा सहभागी गराइने गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले जानकारी दिनुभयो ।

कोरोना महामारीको पहिलो भेरियन्टदेखिनै निकै सक्रियतापूर्वक लागेको जलजला गाउँपालिकाले कोरोना महामारीको दोश्रो भेरियन्टमा समेत सबै नागरिकको पिसिआर परिक्षण र संक्रमितको उपचार नि:शुल्क गरिदिँदै आएको छभने मृत्यु भएका परिवारलाई २० हजारका दरले राहत दिन बजेट विनियोजन गरिएको अध्यक्ष मल्लले वताउनु भयो ।

बजेटमा एककरोड ६० लाखको अध्यक्ष हातेमालो कार्यक्रम समेत समावेश गरिएको छ । यो बजेट अशक्त र असहाय बालबालिकाको शिक्षा तथा स्वास्थ्य र दलित, महिला तथा विपन्नहरूको आयआर्जनका लागि खर्च गरिने अध्यक्ष मल्लले वताउनु भयो । गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि डेढकरोड रूपैयाँ विनियोजन गरेको छभने निर्माण हुन बाँकी वडा नं २ र ८ का वडा कार्यालय भवन निर्माणको लागि समेत वजेट छुट्याइएको छ ।

गाउँ सभामा प्रस्तुत बजेट, नीति तथा कार्यक्रमले कालीगण्डकीको ढुङ्गा गिट्टी र बालुवालाई ब्यवस्थित ढंगले सञ्चालन गरि आन्तरिक आयलाई वृद्धि गर्ने, गाउँपालिकाभित्रका सबै सडकलाई स्तरोन्नति गर्ने, गाउँपालिकाभित्रको पर्यटन, कृषि, पशुपालन र जडीबुटीलाई प्रवर्द्धन गर्ने कार्यक्रम अघि सारेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो ।

बजेट मध्ये चालुतर्फ आठ करोड र पुँजीगत तर्फ रु १५ करोड २३ लाख ५० हजार रुपैयाँ र संघीय सरकारवाट प्राप्त शसर्त अनुदान रु २१ करोड ९२ लाख रुपैया बिनीयोजन गरिएको गाउँपालिकाका उपाध्यक्ष सीमा गर्बुजा पुनले जानकारी दिनुभयो । गाउँसभामा अध्यक्ष यामबहादुर मल्लले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष सिमा गर्बुजा पुनले बजेट प्रस्तुत गर्नुभएको थियो ।

जलजलाले कोभिड–१९ रोकथाम तथा नियन्त्रणलाई विशेष जोड दिएको छ भने बजेटको ठुलो हिस्सा पूर्वाधार र कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी र पर्यटनलाई प्राथमिकता दिईएको गाउँपालिकाका अध्यक्ष मल्लले जानकारी दिनुभयो । गाउँपालिकालेे चालु आर्थिक वर्षका कार्यक्रमलाई पनि आगामी वर्ष निरन्तरता दिने जनाएको छ । Source: samacharbani.com

Leave a Reply