नयनराज पाण्डेका पछिल्ला फुटकर कथाहरु पढ्दा लेखक कथामा बेग्लै शिल्प-शैली निर्माणको प्रयत्नमा लागेका छन् भन्ने अनुभूत भइरहेको थियो। हालै प्रकाशित उनको नवीनतम् कथाकृति ‛जियरा’ पढेपछि उनले निर्माण गर्न चाहेको त्यो शैली र शिल्पलाई मजबुत किसिमले स्थापित गर्न खोजेको आभास भयो। ‛जियरा- शरीरको त्यो आन्तरिक अमूर्त सत्ता जसमा असल-खराबको सही र स्पष्ट ज्ञान हुन्छ। हृदय।’

हिन्दी शब्दकोशले जियरालाई यसरी अर्थ्याएको रहेछ।‘जियरा’भित्र समेटिएका प्रायः लामा आकारका १३ वटा कथाले पाठकका जियरासम्म स्पर्शमात्र गर्दैनन्, हृदयलाई चस्स दुखाएर मथिङ्गललाई झकझकाउँछन् र आफ्नै व्यवहारलाई ऐनामा हेर्न बाध्य पनि बनाउँछन्।

‛जियरा’ भित्रका कथाहरु ‛उलार’को प्रेमललवाकै परिवेश र पृष्ठभूमिमा उभिएका छन्। यसो हेर्दा यी कथाहरू लेखकले आफ्नै ‘कन्फर्ट जोन’मा बसेर लेखिएको जस्तो लागे पनि लेखकले मधेसलाई यसमा मधेस आन्दोलनपछिको मधेश अझ घनीभूतरूपमा अभिव्यक्त भएको छ।

राजेन्द्रराज शर्माहरुसँग सम्झौता गरेर परसपुरमा बसाइँ सर्ने प्रेमललवाहरु ‛जियरा’मा आइपुग्दा ‘दईमारा’को चन्द्रलाल बनेरढाका टोपीवाला इतिहासकारहरुसित झगडा गर्न उद्दत छन्। उलारकी द्रोपदी ‘कबै अर्घ्यालो नथाप्नू’मा नचनियाँ बनेर जंगबहादुरको छातीमा प्रहार गर्नलाई कटारीमा धार लगाइरहेकी छन्। ‘लू’का इलैयाहरूले ‘सर्पदंश’मा तक्षक नाग बनेर चिन्तामणिलाई डसेका छन्।

अबका प्रेमललवाहरु सहानुभूति हैन समानुभूति चाहन्छन् भन्ने आभास यी कथाहरू पढ्दा सहजै हुन्छ।यसमा संग्रहित पहिलो कथा हो ‘जनानी’। नफिसा उर्फ जमेन्तीको कथा हो ‛जनानी’। संरचनाका हिसाबले यस संग्रहका अन्यकथाहरु भन्दा सरल छ यो कथा। कथा जति सरल छ उति नै जटिल छ जमेन्तीको भोगाई।

आफ्नै रहरले, आफ्नै प्रेमले जमेन्तीबाट नफिसा बनेकी उनलाई आफ्नै बाबुआमाले नफिसाबाट जमेन्ती बनाएर दहेजसहित शारीरिक रूपले दुर्बल दुर्गालालसँग विवाह गराइदिन्छन्। तत्काल शान्त र प्रतिक्रियाविहीन बनेकी जमेन्ती आफ्नो गर्भमा सुनामी लुकाएकी समुद्रजस्तै लाग्छिन्।

त्यसैले उनी भन्छिन्, ‘म त यहाँ दुर्गालालकी जनानी भएर हैन, लास भएर आएकी थिएँ। न लासलाई कसैले माया गर्छ, न लासलाई कसैको माया लाग्छ।’

जमेन्तीबाट नफिसा, नफिसाबाट दुर्गालालकी जनानी र पुनस् नफिसासम्मको यात्राको यो कथामा पितृसत्तात्मक सोचको जगमा उभिएकोहाम्रो समाजका विविध पक्षलाई विविध पात्रका माध्यमबाट मिहिन ढङ्गले प्रस्तुत गरिएको छ।

‘रार’की मुख्य पात्र सतियाले फोहोर खोतल्दाखोतल्दै एउटा क्यालेन्डर फेला पार्छिन्। क्यालेन्डरमा धनकी देवी मानिने लक्ष्मीको रङ्गीनचित्र छापिएको थियो। चित्रमा विशाल समुद्रमा फुलेको गुलाबी कमलको फूलमाथि उभिएकी लक्ष्मीका हातबाट सुनौला असर्फी झरिरहेका थिए। यही कथावस्तुभित्र उनिएको कथानक ‘हामीसित जमिन छैन त्यसैले हाम्रो ठौरठेगाना छैन। बिना ठेगाना लक्ष्मी मैयाले पठाएको असर्फी हाम्रो घरमा कसरी आउँछ? त्यसैले हामीलाई हाम्रो जमिन जरूरी छ, अब हामीले हाम्रो जमिनको लागि रार मच्चाउनुपर्छ’ भन्ने कठोर निर्णयमा पुगेर टुङ्गिन्छ।

‘हे देवताहरू हो, अब तिम्रो मरजादमा बस्नु छैन। लैजाओ आफ्ना अस्त्र, आभूषण र कवचहरू! म अब तिमीहरू विरुद्ध मल्लयुद्धको घोषणा गर्दछु।’

‛या देवी’ शीर्षक कथाको सारवस्तु यही वाक्यांशभित्र अन्तर्भूत छ। संरचना, शैली र प्रयोगका दृष्टिले बडो रोचक छ यो कथा। एउटै कथाभित्र तहतह परेर बसेका कथाहरूको संयोजनले पाठकलाई आकर्षित गर्छ।

‛सोअत हिये’ मा पात्रहरु जमिनमुनिबाट निस्कन्छन्। निलकण्ठ मार्फत् आफ्ना दुःखदर्द देउतासम्म पुर्याउन खेज्छन्। पौराणिक पात्र अहिल्या, ईन्द्र, रामको उपस्थितिले यो कथालाई रोचक र सशक्त बनाएको छ।

‛रार’, ‛या देवी’ र ‛सोअत हिये’ सामाजिक यथार्थमा मिथकको प्रचूर प्रयोग गरिएका कथाहरु हुन्। मधेश भित्र पनि निम्नवर्गीय समुदाय र पात्रको प्रतिनिधित्व गरेका यी कथाहरुका विषयवस्तु अनौठा र रोचक छन्। त्यसैले ‛जियरा’लाइ सामाजिक यथार्थको जगमा उभिएकोप्रयोगधर्मि कथाहरूको संग्रह मान्न सकिन्छ।

‛जियरा’, ‛सलमा सितारा’ र ‛लैला ओ लैला यी तीन कथाहरुमा केही समानता भेटिन्छ। सर्ररी पढ्दा यी कथाहरू एकअर्काका पुरकजस्ता पनि लाग्छन्। सायद त्यसैले लेखकले यी कथाहरूलाइ एकै ठाउँमा एउटै क्रममा राखेका हुन्।

यी कथाहरूमा बिम्बका रुपमा रंगीचंगी कपडा गाँसेर बनाइएका गुडिया, कथावस्तुका रुपमा महिलाका विषयहरू समेटिएका छन्। फरक फरक परिवेश र पात्रकाकथा, उपकथाहरु समानान्तर रूपले अगाडि बढ्नु, पात्रहरुका अन्तर्निहित संवेदना लगभग एकै खालको हुनुले यी कथाहरू कथाको‘ट्रिलोजी’ जस्ता लाग्छन्।

शीर्षकथा ‛जियरा’भित्र पनि ब्राकेटबाहिरको मूल कथा र ब्राकेटभित्रको कथाका रूपमा दुई भिन्न लाग्ने कथानक सँगसँगै अगाडि बढेका छन्।

अझ रोचक त कथाकार स्वयमलाई सुटुक्क ब्राकेटभित्रको कथाभित्र छिराउँदै भन्छन्, ‛मेरा समकालीन लेखकसाथी नयनराज पाण्डे मेरो ठाउँमा भएको भए समालोचकको कोठाबाट जुरुक्क उठ्ने थिए। अनि समालोचकको ट्वाइलेटमा एकलट सुसु गरेर उनी समालोचक महोदयसित हात पनि नमिलाई हिँड्ने थिए। मैले त्यसो गर्ने हिम्मत गरिनँ। किनकि ममा अलिकति लोभ थियो।

माध्यमिक विद्यालय तहको नेपाली पाठ्यक्रम निर्माणका संयोजक यी समालोचकले पाठ्यक्रममा आफ्नी जहान र जेठानको रचना समावेश गरे जस्तै मेरो रचना पनि सामेल गरिदिन सक्थे।’ब्राकेटभित्रको कथामा प्रचुर व्यङ्ग्य छ। ब्राकेटबाहिरको मूल कथा भने गुडिया गाउँका गुडियाहरुको कथा हो। यहाँका गुडियाहरु बोल्छन्। बिरह व्यथा पोख्छन् र रुन्छन्। हाँसो त गुडियाहरुको कथा हो। यहाँका गुडियाहरु बोल्छन्। बिरहव्यथा पोख्छन् र रुन्छन्।

Leave a Reply