गैरसरकारी संस्था मिलन म्याग्दीले संस्थापक कोषाध्यक्ष भक्तबहादुुर कार्कीलाई बेपत्ता बनाउने आरोपितलाई कारवाही गर्न माग गरेको छ । संस्थाले बिहीबार प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै संस्थापक कार्कीलाई कुटपिट गरी बेपत्ता बनाएको भन्दै कारवाहीको माग गरेको हो ।

बगुवाखोलाको बालजागृति आधारभूत विद्यालयका प्रधानाध्यापक तथा जिल्लास्थित विभिन्न संघसंस्थामा आबद्ध कार्कीको विद्यालयको कामकै सिलसिलामा विद्यालय आएको समयमा बेपत्ता घटनाले मिलन म्याग्दी परिवार स्तब्ध भएको ज्ञापनपत्रमा उल्लेख छ ।

शैक्षिक क्षेत्रमा आबद्ध इमान्दार तथा कर्तव्यपारायण प्रअ कार्की बेपत्ता प्रकरणमा संलग्न दोषीलाई हदैसम्मको कारवाही गर्न माग गरिएको छ । मिलन म्याग्दीका अध्यक्ष शिव बानियाँसहित पदाधिकारी र कार्यकारी निर्देशक दिवाकुमारी पुनले हस्ताक्षर गरी ज्ञापनपत्र बुझाइएको थियो ।

सो ज्ञापनपत्रमा बेनी नगरपालिकाभित्रै जिल्ला सदरमुकामदेखि ४ किमी पश्चिम बेनी–दरबाङ–जलजला–ढोरपाटन सडकखण्डको छेउमै भएको घटनाले जिल्लाको शान्तिसुरक्षा तथा मानवीय संवेदनालाई समेत सोच्न बाध्य बनाएको जनाइएको छ । यस्तो घटनामा संलग्न व्यक्ति वा जो कसैलाई पनि गहिरो अनुसन्धान गरी कानुनअनुसार कडा कारवाही गर्नुपर्ने माग समेत गरिएको छ ।

उक्त ज्ञापनपत्र मिलन म्याग्दीका उपाध्यक्ष कमला थापाले प्रजिअ अधिकारीलाई हस्तान्तरण गर्नुभएको थियो भने कार्यकारी निर्देशक दिवा पुनले वाचन गर्नुभएको थियो । ज्ञापनपत्र बुझ्दै प्रजिअ अधिकारीले घटनामा संलग्न एक जनाको पहिचान गरी पक्राउ गरेर ल्याई अहिले अनुसन्धान भैरहेको बताउनुभयो । उहाँले हाल अनुसन्धानको क्रममा रहेकाले धेरै भन्नुभन्दा पनि संलग्नलाई कानुनअनुसार कारवाही हुने जानकारी दिनुभयो ।

बेपत्ता कार्की गएको आइतबार घरबाट विद्यालय आएपछि अहिलेसम्म उनको अवस्था अज्ञात रहेको छ । यसैबीच प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी स्थानीय सञ्जय बानियाँलाई प्रअ कार्कीलाई बेपत्ता बनाएको आरोपमा पक्राउ गरी सार्वजनिक गरेको छ । प्रारम्भिक अनुसन्धानमा आरोपित बानियाँले कार्कीलाई कुटपिटपछि कर्तव्य गरी मारेर खोलामा बेपत्ता बनाएको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply