म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८, काफलडाँडामा पुन समुदायको कला, संस्कृति र जीवनशैली झल्काउने उद्देश्यले करबाकेली बाबा संरक्षण समितिले  संग्रहालय बनाएको हो।

ढुङ्गा र काठबाट परम्परागत शैलीमा बनाइएको दुई तले भवनमा पुन समुदायको जन्मदेखि मृत्यू संस्कार झल्कने सामाग्रीसम्म सजाइएको छ। संग्रहालयको माथिल्लो तलामा पुरातात्विक महत्वका सामान राखिएको छ भने भुइँतलामा जाँतो, ढिकी, कोल आदि सजाइएको छ। भुइँतलाका सामान दर्शकले छुन पाउने छन्।

संग्रहालय बनाउन करिब ७० लाख रुपैयाँ खर्च भैसकेको निर्माण समितिका संयोजक एवं करबाकेली क्षेत्रका पर्यटन अभियन्ता चामबहादुर पुनले बताए।

वि.सं. २०७६ वैशाख ९ गतेबाट संग्रहालय निर्माण शुभारम्भ गरिएको थियो। भुइँतलामा पुस्तकालय कक्ष बनाउने बाहेक सबै काम पुरा भैसक्यो।

पुन समुदायका कुल देवता करबाकेली बाबाको थान हातामा बनाइएको यो संग्रहालयको पर्यटकीय महत्व छ।करबाकेलीलाई केन्द्रमा राखेर पुनहिलदेखि करबाकेली हुँदै म्याग्दीको सदरमुकाम बेनीबजार जोड्ने पदमार्गलाई ‘करबाकेली इको ट्रेक’ का रुपमा ब्राण्डिङ गरिएको छ।

धार्मिक हिसाबले मात्र होइन, प्राकृति, सांस्कृतिक र ऐतिहासिक हिसाबले समेत करबाकेली क्षेत्र आकर्षक छ। करबाकेली थानबाट धौलागिरि, अन्नपूर्ण र माछापुच्छे« हिमालसहित वरपरका गामबेसीको मनमोहक दृश्य देखिन्छ। यहाँ पुन समुदायको जीवनशैली र संस्कृतिमा रमाउन पाइन्छ। साथै गर्मी छल्ने गन्तव्यका रुपमा समेत करबाकेली चम्कन सक्छ। परम्परागत शैलीमा बनाइएको यति व्यवस्थित संग्रहालय गण्डकी प्रदेशमै अर्को छैन। त्यसैले यो समग्र प्रदेशकै गौरब बनेको छ।

Leave a Reply