म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा केन्द्रिय प्रशारण लाइनको बिद्युत सुबिधा बिस्तार भएको छ ।

नेपाल बिद्युत प्राधिकरण म्याग्दी बितरण केन्द्रले मुदीमा शनिबार साँझ केन्द्रिय लाइनको बिद्युत बिस्तार गरेको हो । प्राधिकरणका प्राबिधिक रबिन्द्र भण्डारीले मुदीका २०० घरमा बिद्युतिकरण भएको जानकारी दिनुभयो ।

“मिटर जडान गरेका सबै घरमा बिजुली बलेको छ,” उहाँले भन्नुभयो “सोही वडाको खाम्ला, खारा र बाँसबोटका ६५ घरमा यसअघिनै बिद्युतिकरण भइसकेको छ ।” ताकम, मच्छिम, फलियागाउँ, मुना, दर हुदै बिस्तार गरिएको केन्द्रिय लाइन बितरणका लागि मुदी र खाम्लामा एक÷एक सय एमभिए क्षमताका दुई वटा ट्रान्सफर्मर राखिएको छ ।

मुदीमा बिद्युत बिस्तार गर्न त्यहाँ सडक नपुग्दै बि.स. २०७६ चैत पहिलो हप्ता धवलागिरी गाउँपालिकाले वडा नम्बर ७ काउसीबोटबाट हेलिकप्टरबाट दुई वटा ट्रान्सफर्मर ढुवानी गरेको थियो । २०७७ असारमा मुदी सडक सञ्जालमा जोडिएको थियो । खाम्लामा अझै सडक सुबिधा छैन् ।

उज्यालोका लागि सोलार, मट्टितेलको टुकी, दियालो र सिट्ठामा निर्भर स्थानीयबासीमा बिजुली बलेपछि खुसीयाली छाएको छ । घरायसी काम, बिद्यार्थीलाई अध्ययन गर्न सहज हुनुका साथै उद्यम ब्यवसाय सञ्चालन गर्ने अवसर सिर्जना भएको स्थानीय गणेश पुनले बताउनुभयो ।

२०७६ चैतमा तार तानेर र वायरिङ गरिएपनि कोरोना, बन्दाबन्दी र निषेधाज्ञाका कारण बिद्युतिकरण प्रभावित भएको थियो । नेपाल बिद्युत प्राधिकरण म्याग्दी बितरण केन्द्रका प्रमुख प्रशान्त झाले धवलागिरीको फलिगाउँ, मुना, दर र मंगलाको अर्मनमा चालु आर्थिक वर्ष भित्रनै बिद्युतिकरण गर्न लागिएको बताउनुभयो ।

मुना स्थित गाउँपालिकाको कार्यालयमा बिद्युतिकरण भइसकेको छ । मुदीको थलडाडामा रहेको नेपाल टेलिकमको बिटिएस टावरमा पनि बिद्युत बिस्तार गरिएको छ । दर हुदै थलडाडासम्म बिद्युत बिस्तार गर्न गाउँपालिकाले लगानी गरेको छ । मुदी र मुनाका सबै घरधुरीमा बिद्युतीकरण भएपछि धवलागिरीलाई उज्यालो पालिका धोषणा गर्ने तयारी छ ।

यसअघि धवलागिरीको वडा नम्बर ७ ताकम र वडा नम्बर ६ मराङको करिब डेढ सय घरमा केन्द्रीय प्रशारण लाइनको विद्युत पुगेको छ । २०७६ कात्तिकमा वडा न. २ लुलाङमा लघुजलविद्युत र वडा न. ४ कै बगरमा सौर्य उर्जा मार्फत विद्युतिकरण गरिएको छ ।

गुर्जा, मल्कवाङ, खिवाङ र मराङमा लघुजलविद्युत परियोजना मार्फत विद्युतिकरण गरिएको छ । पालिकाका सबै घरमा केन्द्रीय लाइन, लघुजलविद्युत र सौर्य उर्जा मध्य कुनै एक माध्यमको विद्युत सुबिधा पु¥याउने गाउपालिकाको योजना छ । लघुजलबिद्युत परियोजना नभएका र केन्द्रीय लाइन नपुग्ने १२० घरधुरीलाई प्रदेश सरकार मार्फत गत कात्तिकमा ५० वाट क्षमताको सोलार सेट बितरण गरिएको थियो ।

Leave a Reply