कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिएपछि मंगला गाउँपालिका–१,कुहुँ सिल गरिएको छ । कुहुँ र पूर्णगाउँमा गरिएको एन्टिजेन परीक्षणमा ३९ जनामा कोरोना पोजेटिभ भएपछि वडाबाट आवतजावत र छिमेकी वडाबाट समेत प्रवेशमा रोक लगाइएको गाउँपालिकाले जनाएको छ ।

कोरोनाको जोखिम विस्तारै घट्दै गइरहेको अवस्थामा एक्कासी ठूलो संख्यामा बिरामी भेटिएपछि एन्टिजेन परीक्षण सहित कोरोनाको लक्षणसँग मिल्ने बिरामीलाई घरमै सुरक्षित बस्न अनुरोध गरिएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । ‘जोखिम बढेको छ, थप लापरवाही गरिए संक्रमतिको संख्या ह्वात्तै बढ्ने छ’ अध्यक्ष रोकाले भन्नुभयो ।

अध्यक्ष रोका सहितको टोली घरदैलोमा भेटघाट तथा औषधी वितरण समेत गरिएको छ । संक्रमति भएको बस्तीमा आवतजावतमा रोक लगाउनुका साथै असार १३ गतेदेखि २३ गते सम्म १० दिनको लागि अर्को सूचना जारी नभए सम्म मंगला गाउँपालिका–१ नम्बर वडा लाई पुर्णरुपमा सिल गरिने भएको छ । सिल अवधिमा वडा कार्यलय, सहकारी तथा वित्तीय संस्थाहरुको सेवा समेत बन्द गरिएको जनाइएको छ ।

समुदायमा कोरोना फैलिएकाले परिस्थिति सहन नहुन्जेलसम्मका लागि एक मात्रै विकल्प वडा सिल भएको वडा सदस्य दिलकुमारी खत्रीले बताउनुभयो । ‘सिल’को अवधिभर स्थानीयवासीलाई कुनै पनि अवस्थामा घर बाहिर ननिस्कन, घरमा बसेका मानिसबाहेक अरु आफन्त, नातेदार, साथीहरू कसैसँग सम्पर्क नगर्न, आउजाउ नगर्न टोलटोलमा अनुरोध समेत गरिएको छ । कुहुँमा जनप्रतिनिधि सहित समुदायमा कोरोना पुष्टी भएको थियो । जिल्लामा कोरोना संक्रमतिको संख्या कम भएपछि लकडाउन खुकुलो बनाइएपछि पछिल्लो समय संक्रमितको संख्या बढेको छ ।

 

Leave a Reply