बेनी । आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि कुल ६६ करोड ५ लाख ६७ हजार रुपैयाँको बजेट पारित गर्दै म्याग्दीको बेनी नगरपालिकाले नवौं नगर सभा आइतबार सकिएको छ । असार १० गते सुरु भएको सभामा नगर उपप्रमुख सन्जु बरुवालले प्रस्तुत गर्नुभएको बजेट, आर्थिक र बिनियोजन बिधेयक छलफल गरि पारित गरिएको हो ।

चालु शिर्षकमा ४२ करोड ७८ लाख ८२ हजार र पुँजीगत शिर्षकमा २३ करोड २६ लाख ८५ हजार रुपैयाँ रहेको छ । चार करोड १२ लाख रुपैयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको नगरपालिकाले संघ र प्रदेश सरकारले विभिन्न शिर्षकमा दिने अनुदान तथा चालु आर्थिक वर्षमा खर्च हुन नसक्ने अनुमान गरिएको रकमलाई आधार मानेर बजेट बनाएको हो ।

पुजिगत मध्य पुर्बाधार बिकासमा तीन करोड पचास लाख, वडागत योजनालाई छ करोड ६० लाख, आर्थिक विकासमा एक करोड ४० लाख, सामाजिक बिकासमा एक करोड ७५ लाख, वातावरण तथा विपद् ब्यवस्थापमा ७५ लाख, संस्थागत बिकास तथा सुशासनमा तीस लाख रुपैयाँ बिनियोजन भएको छ । १० वटा वडा रहेको बेनी नगरपालिकाको १, ४, ६ र १० नम्बर वडालाई ६५ लाखका दरले, २, ३, ५ र ९ नम्बर वडालाई ७० लाखका दरले तथा ७ र ८ नम्बर वडालाई ६०÷६० लाखका दरले कुल छ करोड ६० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

त्यस्तै विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण नियन्त्रण तथा व्यवस्थापनका लागि ५० लाख, वर्षाले प्रभावित पारेका सडकको स्तरोन्नति गर्न ७० लाख र नगरका विविध कार्यक्रम सम्पन्न गर्न समपुरक कोषमा तीन करोड ८५ हजार रुपैयाँ बजेट छुट्याइएको छ । कृषि उत्पादन, गरिबी न्युनीकरण, व्यवसाय प्रवद्र्धन, आवासविहिनको घर निर्माण, विपद्मा परेकालाई तत्कालै उद्दार तथा राहतका साथै भूगोल र जनसङ्ख्याको आधारमा वडालाई बजेट विनियोजन गरिएको नगर प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो ।

मेयर श्रेष्ठले कोरोना रोकथामको कार्यलाई थप व्यवस्थित बनाउने, सङ्घीय सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारासहित आर्थिक समृद्धिका क्षेत्रलाई प्राथमिकता दिइने, नगर क्षेत्रको कृषिलाई आधुनिकीकरण र विविधिकरण गरी व्यावसायिकरणमा प्राथमिकता दिनुका साथै नगर क्षेत्रका पर्यटकीयस्थलको विकासमा जोड दिइने बताउनुभयो । स्थानीय तहका पदाधीकारीले आफ्नो कार्यकालको अन्तिम बजेट ल्याएका हुन् । पारित भएको बजेट, नीति तथा कार्यक्रमलाई कार्ययोजना बनाएर समयमै कार्यान्वयनमा लगिने प्रमुख प्रशासकीय अधिकृत छबिलाल सुबेदीले बताउनुभयो ।

Leave a Reply