बहुचर्चित कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरोला सडकअन्तर्गत ४ नं. प्याकेजमा शनिबारदेखि धमाधम कालोपत्रे भैरहेको छ । मुस्ताङको थासाङ गाउँपालिका १ अन्तर्गत ल्हहु र म्हन्सिंह खोलादेखि औपचारिक रुपमा कालोपत्रे सुरु भएको हो । धार्मिक तथा पर्यटकीय सम्भावनाले भरिपूर्ण मुस्ताङमा कालोपत्रे हुनु गौरवको विषय हो ।
यसअघि शर्मा गजरमुखी जेबी कम्पनीले कालोपत्रे सुरु गरिसकेको भए पनि केही सातादेखिको वर्षा र सडक अवरुद्धका कारण कालोपत्रेले निरन्तरता पाउन सकेको थिएन । तर शनिबारदेखि कोशी एन्ड न्यौपाने जेबी कम्पनीले सो कार्यलाई निरन्तरता दिएको हो । राष्ट्रिय गौरवको आयोजनामध्येको यो सबैभन्दा चर्चित र महत्वपूर्ण रहेको कम्पनीको दाबी छ ।
विभिन्न ७ ओटा प्याकेजको आयोजना अवधि समाप्त भैसकेको र पुनः म्याद थप भएकोले यसलाई चाँडोभन्दा चाँडो सक्नेमा निर्माण कम्पनी ढुक्क छ । कम्पनीका प्रोजेक्ट म्यानेजर सन्तोषराज गौतमले सुरु कालोपत्रे काम जतिसक्दो चाँडो सक्ने बताए । उनका अनुसार कोबाङको खन्ती गेटदेखि जोमसोमको पक्की मोटरेबल पुलसम्म कालोपत्रे गरिने भएको छ । असारदेखि सुरु कालोपत्रे काम साउनभित्र करिब १४ किमी सक्ने गरी काम अघि बढेको गौतमले बताए । उनका अनुसार राष्ट्रिय गौरवको आयोजना र त्यसमाथि अन्तर्राष्ट्रिय सीमाना कोरोला नाका चीनसँग सिधै जोडिने र व्यापार प्रवद्र्धधन साथै दुइदेशीय अन्तरसम्बन्धका धेरै विषयमा सहजता हुने भएकोले पनि कम्पनीले यस योजनालाई प्रमुख जिम्मेवारीका साथ अगाडि बढाउने गौतमले बताए । बाँकी साढे ४ किमी सडकको काम असोजभित्र सकिने बताइएको छ ।

कोशी एन्ड न्यौपाने जेबीले निर्माणको जिम्मा पाएको २ ओटा प्याकेजअन्तर्गतको यो ४ नम्बर प्याकेज हो । भौगोलिक विकटता, सडक सञ्जाल दूरावस्था लगायत समस्याले काममा ढिलाइ भएको कम्पनीको जिकिर छ । कम्पनीका सिनियर इ. संगम धितालकाले कोरोना भाइरस महामारीसमेत बेवास्ता गर्दै कामलाई नै प्राथमिकता दिएको बताए । मौसमले साथ दिए साउनसम्म कालोपत्रेको काम सकेर असोजसम्म पुरै प्रोजेक्टको काम करिडोरलाई हस्तान्तरण गर्ने धितालले बताए । उनले भने, ‘कोरोना महामारीबीच करिब २ सय जना कर्मचारी खटाएर कामलाई निरन्तरता दिएको छ ।’
थासाङ गाउँपालिका–२, खन्तीदेखि जोमसोमसम्म करिब साढे १८ किमीमध्ये डेढ किमी आरसिसी ढलान र बाँकी सबै कालोपत्रे हुनेछ । कालोपत्रेपछि समग्र मुस्ताङको मुहार नै फेरिने टुकुचे निवासी युवा समाजसेवी नीरज तुलाचनले बताए । उनले भने, ‘कालोपत्रे कामले थासाङ गाउँपालिकामात्रै नभएर आममुस्ताङीको लागि विकासको ढोका खोलेको छ । मुस्ताङको पर्यटन प्रवद्र्धन, कृषि र ब्यापारलाई समेत थप मद्धत पुग्नेछ ।’

Leave a Reply