---Advertisement---

सुन्दरताको परिभाषा 

On: July 1, 2021 10:20 PM
Follow Us:
भर्खरै जन्मिएको बच्चाको
पनि रुप रङ्ग  छुट्यादिन्छौँ
ती नानी जो बुझ्दिनन
सुन्दरताको अर्थ,
हामी तिनलाई पनि
सुन्दरताका ट्यागहरु
भिराईदिन्छौ,
अहो कति आतुर हामी
खोज्न एकअर्काका खोटहरु,
फलानी काली,
तिलानी चुच्ची,
अर्की मोटी,
त्यो छोटी,
सुन्दा सुन्दै अरुका  आलोचना
आत्मविश्वास डगमगाउन थाल्छन,
बालिकाहरु किताब कम र ऐनाअगाडि
ज्यादा उभिन थाल्छन
मनभित्र गढेको
सुन्दरताको मानकले किशोरीहरुलाई
 आधुनिक पार्लरसम्म पुराउँछ
 गोरो चम्किलो छालाका लागि
 चाइनिज कृमहरु
  सलल केशका लागि
  स्टेट र टृट्मेन्ट कृमहरु
 स्तन मसाजदेखि
मोटोपन कम गर्ने औषधीसम्म
   कथित राम्री बन्न
 राम्रा कुराहरु भुल्दै
गलत अभ्यासको पिछा गरिरहन्छ्न
किन भन्दैनन कसैले सुन्दर हुनु
आफु हुनु हो, खुसी हुनु हो,
 दुनियालाई सुन्दर देख्नु सुन्दर हुनु हो,
म देख्थे मानिसहरु सुन्दर हुन
फेयर लब्ली लगाउथे,
मेकअप गर्थे,
मलाई त्यतिखेर लागेको थियो कालो हुनु कुरुप हुनु हो,
 अरुले थमाईदिएका मुख धुने  अनेक साबुन,
गोरो बनाउने क्रिमहरु,
कहिलेकहीँ  लगाएँ मैले पनि
अहँ फरक पाईन मानिसले
मलाई हेर्ने नजरमा,
  अहिले बल्ल बुझ्दै छु
हामीले छाला बदल्न खोज्यौँ
 खोजेनौँ बदल्न सोच
सुन्दरताको उदाहरण
  ब्युटी पेजेन्ट्मा विजेता जिरो फिगर
 मात्र होइन
  हाम्रा नानीहरुलाई
सिकाउँ सुन्दरताको असली परिभाषा
हामीले जे बताउछौ,
त्यही त बुझ्छन
जे सिकाउँछौ,
त्यही जान्दछन,
त्यसैले
अब बदलेर सौन्दर्यको  परिभाषा
सिकाउँ कर्मको भाषा,
सुन्दर हुनु भनेको,
 आफू आफूजस्तै हुनु हो,
माया प्रेम बाड्दै जीउनु हो
सुन्दरता  कर्ममा देखिन्छ
व्यवहारमा देखिन्छ,
संस्कारमा देखिन्छ
 आत्मविश्वासमा देखिन्छ
कोही कुरुप  हुँदैनन,
बस एकअर्काबाट फरक हुन्छन