गतबर्ष बाढीपहिरोका कारण विस्थापित भएकालाई म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले बनाएको घर धमाधम हस्तान्तरण भइरहेको छ । घर निर्माण सम्पन्न भएपछि बुधबार धवलागिरी गाउँपालिका–६, मराङ र बिहिबार मालिका गापा–७, बिममा एक समारोहमा जनप्रतिनिधि,सरोकारवाला निकायका प्रतिनिधिको उपस्थितिमा सम्बन्धित पीडितहरूलाई हस्तान्तरण गरिएको हो ।

मराङमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष थमसरा पुन मगरले मोनमार्फत विस्थापितलाई निर्मित घरले बर्खाको समयमा ठूलो राहत मिलेको बताउनुभयो ।‘हाम्रो एकल प्रयासमा यो सम्भव थिएन्, मोनाले घर बनाउँदा धेरै सहज भयो’ अध्यक्ष पुनमगरले भन्नुभयो।

सोही अवसरमा मोना अन्तराष्ट्रियका अध्यक्ष ओमनारायण जुग्जालीले प्रवासी म्याग्देलीको सहयोगबाट निर्मित घरलाई समयमै हस्तान्तरण गर्न पाएकोमा खुसी लागेको बताउनुभयो। ‘जन्मभूमिमा प्राकृतिक विपत्तीले निम्त्याएको क्षतीलाई मोनाले सक्ने सहयोग गरेको छ,सुखदुखमा मोनाको सधै साथ रहन्छ’ अध्यक्ष जुग्जालीले भन्नुभयो ।धवलागिरीमा कुल १४ घरधुरीमा मराङमा १० घर हस्तान्तरण गरिएको छ भने बाँकी ४ घर ताकम धारापानीमा बनाइएको छ।

त्यस्तै बिहिबार बिममा प्रजिअ गणेशबहादुर अधिकारी, मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका, उपाध्यक्ष खरमायाँ विटालु, वडा अध्यक्ष रेशम जुग्जाली सहित स्थानीय सरोकारवाला निकायका प्रतिनिधिको उपस्थितीमा आयोजित कार्यक्रममा निर्मित १० घरधुरी हस्तान्तरण गरिएको मोनाका सचिव रेशम पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मोनाले एक परिवारका लागि एक वटा भान्छा कोठा सहित तीन कोठा रहेको छ ।

भूकम्प प्रतिरोधी क्षमतामा ५ लाख खर्चिएको छ ।घर हस्तान्तरण कार्यक्रममा मोनाका अध्यक्ष ओमनारायण जुग्जाली पूर्व अध्यक्ष एवम् प्रमुख संरक्षक चक्रबहादुर थापा, उपाध्यक्ष सुर्जे भट्टचन सचिव रमेश पौडेल, सह–कोषाध्यक्ष महेन्द्र खड्का, मोना आइसी सदस्य एवम् निमाण समिति सदस्य दल शेरपुन्जा र मध्यपुर्व उपसंयोजक सुबोध बरुवाल लगायतको उपस्थिती रहेको थियो । अब मंगला, रघुगंगा र अन्नपूर्णमा निर्मित घरहरु हस्तान्तरण गर्न बाँकी छ ।

धवलागिरी गाउँपालिकामा १४, मालिकामा १०, मंगला, रघुगंगा, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकामा ४–४ वटा घर गरी ४० घरको जिम्मा लिएको थियो ।जिल्ला प्रशासन कार्यालय र पालिकाहरुसँग घर पुननिर्माणका लागि म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले सघाएको थियो ।गतबर्ष म्याग्दी जिल्लाभर ८१ वटा बस्तिमा पहिरोका कारण क्षति भएका २४७ र जोखिममा परेका ८२१ घर स्थानान्तरणका लागि सिफारिस गरिएको थियो ।

मोनाले ४० घरको जिम्मा लिएपनि बाँकी पूर्णरुपमा विस्थापित भएकालाई राष्ट्रिय बिपद जोखिम न्यूनीकरण तथा ब्यबस्थापन प्राधिकरणको कार्यबिधी–२०७७ तयार भएसँगै म्याग्दीका पूर्ण विस्थापितले पुर्नबास अभियानमा ५ लाख र आंशिक र समान्य क्षती भएकाले मर्मत सम्भारका लागि ५० हजार नगदको सम्झौता भइ हाल निर्माणकार्य भइरहेको छ ।

Leave a Reply