म्याग्दीको बेनी नगरपालिका-५, पुलाचौर स्थायी घर भई हाल अमेरिकाको विश्वविद्यालयमा प्राध्यापनरत डाक्टर अमर भण्डारीले दुईवटा भरी अक्सिजन सिलिण्डर र फ्लोमिटर सहयोग गरेका छन् । भण्डारीले नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखामार्फत पुलाचौर स्वास्थ्यचौकीलाई सिलिण्डर उपलब्ध गराएका हुन् ।

उक्त अक्सिजन सिलिण्डर शुक्रबार एक कार्यक्रमको आयोजना गरेर स्वास्थ्यचौकीलाई हस्तान्तरण गरिएको रेडक्रस उपशाखा पुलाचौरले जनाएको छ । अक्सिजन सिलिण्डर सहयोगी भण्डारीका पिता एवं रेडक्रसका आजीवन सदस्य तथा पूर्व जिविस सदस्य सुरतबहादुर भण्डारी र रेडक्रस उपशाखा सभापति शिव बानियाँले स्वास्थ्यचौकीका अहेव चाहना शर्मालाई हस्तान्तरण गरेका थिए ।

४८ लिटर क्षमताको अक्सिजन भरिएको सिलिण्डर, फ्लोमिटर तथा ढुवानीसहित करिब ७० हजार रुपैयाँ बराबरको दुईवटा अक्सिजन सिलिण्डर सहयोग गरेको उपशाखा सभापति बानियाँले बताए । यसैगरी सहयोगी डा. भण्डारीले रेडक्रस पुलाचौर उपशाखालाई कोभिड–१९ विरुद्धको अभियानमा ३० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।

अक्सिजन सिलिण्डर हस्तान्तरण गर्दै डा. भण्डारीका पिता सुरतबहादुर भण्डारीले स्वास्थ्यचौकीमा सेवा लिन आउने गम्भीर प्रकृतिका बिरामीको उपचारमा अक्सिजन सिलिण्डर उपयोगी हुने बताए ।

रेडक्रस उपशाखा सभापति शिव बानियाँको अध्यक्षता, रेडक्रसको विपद् व्यवस्थापन समिति सचिव गजिन्द्र श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतमले मन्तव्य राखेका थिए ।

रेडक्रस उपशाखाले यसअघि पुलाचौर स्वास्थ्यचौकीलाई बिरामीको सुगर परीक्षण गर्नका लागि दुईवटा गुल्कोमिटर, ज्वरो मापन गर्ने तीनवटा थर्मोमिटर, बाल्टिन, माक्स, साबुन, स्यानीटाइजर, माइन्युटलगायत दैनिक कार्यसम्पादनमा आवश्यक जिन्सी सामग्रीहरु सहयोग गरेको थियो ।

त्यस्तै उपशाखामार्फत पुलाचौरका ५५ जना कोरोना संक्रमितलाई बाल्टिनलगायत स्वास्थ्य सामग्री तथा पोषिलो खानेकुरा घरघरमै पुगेर वितरण गरिएको थियो । गतवर्ष उपशाखाले वडा भित्रका सबै घरधुरीलाई मास्क र साबुन वितरणसहित सचेतनामूलक अभियान पनि सञ्चालन गरेको थियो ।

 

Leave a Reply