चीनको वुहानबाट २०१९ डिसेम्बरमा फैलिएकाे कोरोना भाइरसको प्रकोपले डेढ वर्ष संसारलाई आक्रान्त बनायो । विश्वका कुनै पनि देश यसकाे प्रकोपबाट अछुताे रहन सकेनन्, चाहे धनी देश वा गरिब ।
कोरोनाले मानिसको स्वास्थमा मात्र आक्रमण गरेन, अर्थतन्त्र, विकास निर्माण, शिक्षा, रोजगार, उद्याेग, व्यवसाय, पर्यटनलगायतका सबै क्षेत्रलाई सिथिल बनाइदियो। यो महामारी कहिले अन्त्य हुन्छ भन्ने आम मानिसको चासोमा विज्ञहरूसमेत उत्तरविहीन छन् । नयाँनयाँ भेरियन्टहरूका भाइरस आइराखेका छन् । क्रमशः झन् खतरापूर्ण भाइरसको विकास भएको पाइन्छ । यस माहामारीले कल्पना नै नगरेको अस्तव्यस्तता संसारमा ल्याइदिएको छ ।
विशेषगरी नेपालजस्ता गरिब देशलाई त यसले थला नै पारेको छ । रोगको प्रकोप एकातिर निम्ताइदिएको छ भने यसकै प्रभावस्वरूप मानिसहरूमा भोकको प्रकोप पनि देखिँदै छ ।
काेभिड-१९ महामारीले विश्वव्यापीरूपमा मानव जीवनमा नाटकीय नोक्सानी निम्त्याएको छ । र, स्वास्थ्य, खाद्य प्रणाली र रोजगारीको क्षेत्रलाई अभूतपूर्व चुनौती दिएकाे छ । महामारीको कारण हुने आर्थिक र सामाजिक अवरोध विनाशकारी छ: करोडौं मानिस चरम गरिबीमा फस्ने खतरामा छन् । वर्षको लाखौं उद्यमहरूले अस्तित्वगत खतराको सामना गर्नुपर्ने देखिन्छ। विश्वका धेरै व्यक्तिहरूले राेजगारी गुमाउँदैछन् । अनौपचारिक अर्थतन्त्रका कामदारहरू विशेषगरी असुरक्षित छन् । लकडाउनकाे समयमा आम्दानी नहुँदा धेरैले आफू र आफ्नो परिवारलाई खानपान जुटाउन सकिरहेका छैनन् ।
काेराेना रोकथाम र न्यूनीकरणका लागि देशव्यापीरूपमा नेपालमा पनि दुई पटकसम्म लकडाउन गरियो । पहिलो लकडाउन केही लामो थियो भने अहिले हामी कोरोनाको दोस्रो लहरको कारण दोस्रो लकडाउनमा छौँ । स्थानीय सरकार र डीसीसीएमसीद्वारा विस्तारै लकडाउनलाई खुकुलो पारिँदै लगेकाे देखिन्छ ।
यही कोरोना रोकथामका लागि स्थानीयदेखि केन्द्र सरकारले अर्बौं खर्च गरे तर कोरोना नियन्त्रण र आमनागरिकका पीडाहरू कम भएकाे देखिँदैन । यसमा सरकार र नागरिकहरू उत्तिकै जिम्मेवार छनग् । अव्यवस्थित र अदुरदर्शी सरकारी कदम र गैरअनुशासित नागरिक तर मुख्य दोस भने सरकार र हाम्रो नेतृत्व गर्नुहुने अगुवा कर्मचारी एव जनप्रतिनिधिहरूलाई नै जान्छ ।
चाइनाबाटै सुरु भएको कोरोना चाइनाले केही महिनामै संक्रमणदर करिब शून्यमा झार्न सफल भयो । त्यसपछि चाइनाको जनजीवन सामान्य जस्तै बनेकाे छ । त्यसैगरी पहिलो प्रकोपमा थला परेका युरोपका देशहरू अहिले दसाैं हजार मान्छेलाई स्टेडियममा उतारेर फुटबल गेम गराउने स्थितिमा पुगिसकेको छन् ।
अमेरिकाले पहिलो प्रकोपको सुरुवाती चरणमा लकडाउन गर्नै चाहेन । पछि कतैकतै गरियाे । तर, नेपाल, इन्डियामा जस्तो मानिसहरूलाई पुलिसको डण्डा देखाइएन । लकडाउन घोषणा गरे पनि मानिसहरूलाई हिँड्डुल गर्न र आफ्नो अन्य दैनिकी गर्न दिइएकाे थियाे । तर, अहिले दोस्रो लहरले नेपाल र भारतको जनजीवन अस्तव्यस्त भैराख्दा अपवादबाहेक युरोप तथा अमेरिकी देशहरू करिब सामान्य अवस्थामै छन् ।
किनकि उनीहरूले आफ्ना धेरैजसाे नागारिकलाई खोप लगाइसकेका छन् । अघिल्लो महामारीबाट सिकेर सोहीअनुरुप नीति, नियम र कदमहरू चालिएको पाइन्छ । यसबाट के प्रष्ट हुन्छ भने नेपालजस्ता देशहरूको लागि कोरोना भाइरसभन्दा पनि त्यस देशमा रहेको अक्षम नेतृत्व र अदुरदर्शी नेताहरू हुन् । यस्तो विषम परिस्थितिमा भ्रष्टाचार, बेथिति र राजनैतिक किचलो उत्पन्न गराउने दलहरू नै हुन् ।
एक अर्ब चालिस करोड बढी जनसंख्या भएको चीनले एक अर्ब नागरिकलाई खोप लगाइदिएको समाचार छ । करिब उतिनै जनसंख्या भएकाे भारतले १८ वर्षमाथिका सबैलाई खोप लगाउने बृहत् अभियान चलाइरहेको छ । नेपालले पनि अहिले ६० लाख जतिलाई त खोप दिन सक्नुपर्ने हो तर सरकारले लकडाउनबाहेक अरु उपाय देखेको छैन ।
यस्तो महामारीमा सरकार अनावश्यक राजनैतिक किचलोमा फसेको छ। जनता रोग र भोकले थलिँदा दल र नेताहरू कुर्सी मोह र नाटक नौटंकीकाे धुनमा नाचिरहेका छन् । जनताका लागि गाउँगाउँमा भ्याक्सिन लग्नुपर्नेमा नेताहरू फेरि महत्त्वाकाङ्क्षी सपना बाँड्दै भाेट माग्न गाउँ पस्ने तरखरमा छ्न् । जनताको पीडाभन्दा आफ्नो धन्दा प्यारो छ । त्यसैले आम जनताहरूलाई कैदीजसरी घरघरमा थुनिएको छ ।
चुनावका लागि अर्बौ खर्च गर्न सरकार तयार हुँदा भ्याक्सिनप्रति गम्भीर हुन सकेकाे देखिँदैन । यो समयमा देश र जनताको आवश्यकता बुझ्नभन्दा सत्ता र शक्तिको लुछाचुडीमा छ्न् नेताहरू। छिटोभन्दा छिटाे भ्याक्सिन ल्याउनुपर्ने बेलामा जनतालाई सास्ती दिने लकडाउनलाई मात्र विकल्पको रूपमा सोचियो । यसबाट कति मान्छेले रोजगारी गुमाए, विद्यार्थीहरूको महत्त्वपूर्ण समय खेर गयाे । भर्खर व्यवसाय सुरु गरेका उद्यमीहरूमाथि ऋणको बोझ थप्ने काम मात्र भयो । यसबाट सरकार र जनप्रतिनिधिहरूको अदुरदर्शिता झल्किन्छ।
अझ केही स्थानीय तह र जिल्लाहरूमा त लकडाउनका अनौठा नियम ल्याएर आम नागरिकलाई दुःख दिने काम भयो । जस्तै हप्ताको दुई दिन मात्र बैंक तथा वित्तीय संस्था खोल्ने; यस्ताे लकडाउनले कसरी कोरोना नियन्त्रण गर्छ ? झन् एकैचोटि धेरै सेवाग्राहीको भीडले जोखिम बढाउँछ ।
अझ अहिले त मेरो जिल्ला म्याग्दीको सदरमुकाम बेनीमा सबै किसिमका पसलहरू दिउँसाे १ बजेसम्म मात्र खोल्ने नियम बनाइएको छ । आमनागरिकले १ बजेपछि कोरोना आउने हो भन्दै व्यंग्य गरिरहेका छन् । तर, के गर्नु जबरजस्ती प्रहरीले बल प्रयोग गरेर १ बज्नेबित्तिकै पसलहरू बन्द गरिदिन्छ ।