म्याग्दीमा जारी निषेधाज्ञा (लकडाउन ) लाई खुकुलो बनाउँदै गरेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले संक्रमित भेटिएको टोलमा सिल गर्ने भएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले बुधबार बसेको बैठकले ५ जना सक्रिय संक्रमति रहेको गाउँ, टोलको चार किल्ला कायम गरी आवतजावत, ब्यवसायलाई बन्द गर्ने निर्णय गरेको सहायक प्रजिअ सुवास शर्मा पौडेलले बताउनुभयो।

‘समुदायस्तरमै स्वंयमसेवक टोली बनाएर अभियान सुरु गर्ने स्थानीय तहलाई अनुरोध समेत गरिएको छ,‘संक्रिय संक्रमति भएको एरियामा अव आवतजावतमा थप कडाई हुन्छ’ सहायक प्रजिअ शर्माले भन्नुभयो ।

जिल्लाको ग्रामिण क्षेत्रमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि रोकथाम तथा नियन्त्रणका लागि एन्टीजेन परीक्षणलाई समेत थप प्रभावकारी बनाउन समेत अनुरोध गरिएको छ ।

कोरोनासँग लक्षण मिल्ने बिरामी देखिन थालेपछि पाँचजना भन्दा बढी सक्रिय संक्रमित भएका क्षेत्रमा सोही गाउँको अन्य टोलबाट समेत आवतजावतमा रोक लगाउन समुदायस्तरबाटै सुरक्षा दस्ता बनाएमात्रै प्रभावकारी हुने बैठकमा सहभागी अन्य सदस्यले समेत राय दिएका थिए।

यो निर्णयसँगै हाल पाँचजनाभन्दा बढी संक्रमित रहेको क्षेत्रलाई सिल गर्न स्थानीय तहलाई पत्रचार समेत गरिने भएको छ ।

जिल्लामा हाल १ सय ६३ जना सक्रिय संक्रमित छन् भने बुधबार २८ जना संक्रमित निको भएर आइसोलेसन मुक्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ । मंगलबार र बुधबार बेनि नगरपालिकामा १३ जना, अन्नपुर्ण गाँउपालिकामा ५ जना र रघुगंगा गाँउपालिकामा १ जनामा गरी जम्मा १९ जनामा एन्टिजेन विधिबाट गरीएको परिक्षणमा कोरोना संक्रमण पुष्टि भएको छ ।

Leave a Reply