बेनी नगरपालिका-६,थाकनपोखरीका कृषक लेखनाथ रिजालले धान रोपाइँमा प्रयोग गर्न ल्याएको मिनी टिलर (हाते ट्याक्टर)प्रयोग नगरी बिग्रियो ।

रिजाल जस्तै भहदत्त आचार्य, सन्तोष रेग्मी र रमेश रेग्मीलाई समेत रोपाईको मुखमै मिनी टिलरले धोका दियो । पटक–पटक प्रयास गर्दा समेत ट्याक्टरले काम नगरेपछि हलो जुवा बोकेर गोरु धपाउँदै खेतबारीमा पुग्नुपरेको कृषकको गुनासो छ ।

किसानलाई कृषि आधुनिकीकरणतर्फ आकर्षित गर्न र उत्पादन लागत घटाई उत्पादन बढाउन बेनी नगरपालिकाले ३३ प्रतिशत अनुदान दिएपछि किसानले ४० हजार रुपैयाँ तिरेर मिनी टिलर खरिद गरेको अवस्थामा मानो रोपेर मुरी फलाउने बेलामा प्रयोगविहिन भएको स्थानीय होमनाथ रिजालले बताए ।

‘सरकारी अुनदान पाएपछि ट्याक्टर खरिद गरियो,‘रोपाइँको बेलामा टिलर घरको आगनमा राखेर गोरू खोज्न जानुपरेको छ’ रिजालले भने । विगतमा गोरूबाट रोपाइँ गर्दै आएका किसानलाई कृषिमा आधुनिकीकरण र यान्त्रीकरण गर्न चालु आवमा थाकनपोखरी र छापमा वितरण गरिएको मध्ये ७ थान टिलर प्रयोगविहिन अवस्थामा उनको भनाई छ ।

प्रयोग नगरी बिग्रिएपछि मर्मतका लागि अनुरोध गर्दा बिक्रेता धौलागिरी मेशिनरी एण्ड टुल्स सप्लार्यसले साउन महिनामा आउने भन्दै आलटाल जवाफ दिएको स्थानीय कृषकको गुनासो छ । ‘अनुदान पनि नाम मात्रै छ,‘बजारमा त्यो मुल्यमा अझै राम्रो र गुणस्तरीय मिनी टिलर पाइन्छ’ कृषक आचार्यले भने ।

ट्याक्टरले खेतबारी जोत्न पाएपछि गोरुले भन्दा छिटो र सजिलो हुने भन्दै उत्साहित भएका किसान बिग्रिएपछि अहिले निराश भएका छन् ।

बेनी नगरपालिका मार्फत टेण्डर प्रक्रियाबाट मिनी टिलर बिक्री गरेका सप्लार्यरका प्रोपाईटर सुर्य गौतमलाई स्थानीयले पटक–पटक सम्पर्क गरेपनि साउन महिना अगाडी मर्मत सम्भव नभएका बताएपछि रोपाइँमा जुटेका कृषकले नगरपालिकामार्फत नै फिर्ता गर्ने तयारी समेत गरेका छन् ।

‘गोरू र खेताला नपाएर हैरानी भइरहेको अवस्थामा मर्मतमा समेत चासो दिइएन’ अर्का एक कृषकले बेनीअनलाइनलाई भने ।

डिजेलबाट चल्ने ५ हर्स पावर क्षमताको १७३ एफ त्रिपल गियर भएको मिनी टिलर किसानलाई उपलब्ध गराइएकोमा बिक्रेताले गुणस्तरहिन टिलर बिक्री गरेको गुनासो वडा अध्यक्ष कृष्णसिङ बानियाँलाई समेत गराएका छन् ।

वडा अध्यक्ष बानियाँले समेत कृषकको समस्या सम्बोधन गर्न सप्लार्यसलाई पटकपटक ताकेता गरेको स्थानीयको भनाई छ ।

बिक्रेताले जनप्रतिनिधिको अनुरोधलाई समेत बेवास्ता गरेपछि फिर्ता गरी नयाँ उपलब्ध गराउन समेत दवाव दिइएको छ ।यता नगरपालिकाी कृषि शाखा प्रमुख आकृति ढुंगानाले काम गर्दै जाँदा मेसिन बिग्रियो भने सम्झौता अनुसार मर्मत गर्नुपर्ने बताईन् ।

उनले बजारमा पार्टपुर्जा पनि सजिलै पाइने मिनी टिलरलाई उपभोक्ता समितिमार्फत खरिद गरिएकाले समस्या समाधानका लागि प्रयास भइरहेको बताईन् । ‘हामीसँग प्रयोग नै नगरी राखिएको गुनासो आएको छैन्,‘आगामी आवमा खरिद प्रक्रियालाई थप ब्यवस्थित बनाउने छौ’ उनले भनिन् ।

कृषकको गुनासो वडामार्फत संकलन गरी समस्याको समाधान खोजिने समेत शाखा प्रमुख ढुंगानाको भनाई छ । चालु आवमा वडा नं १ मा २१, वडा नं २ मा २०, वडा नं ३ मा २३, वडा नं ५ मा ४७ र बेनपा १० मा ६ वटा टेलर वितरण गरेको छ । मिनी टिलरबाट जोत्दा प्रतिघण्टा करिब एक लिटर पेट्रोल खर्च लाग्छ भने एक घण्टामा एक रोपनी जोत्न सकिन्छ ।

पछिल्लो समयमा गोरुको विकल्पमा कृषकहरूले यन्त्र प्रयोग गर्न थालेका छन् । मिनी टिलरबाट छिटो हुने, गोरु पाल्न नपर्ने, झन्झट नहुने भएको कारण आधुनिक यन्त्रमा किसानको मोह बढ्दै गएपनि टेलरहरु बिग्रिएको खण्डमा सामान्य मर्मत समेत नहुदाँ प्रयोगमा समस्या हुने गरेको छ ।

Leave a Reply