कोरोना भाइरसको महामारीको समयमा ज्यान जोखिममा राखेर काम गर्ने बिरामीको उपचारमा खटिने एक चालकलाई लायन्स क्लव अफ बेनी पिस सिटीले सम्मान गरेको छ । बेनी नगरपालिका–४, थामडाँडाका शेरबहादुर गुरूङलाई क्लवले दोसल्ला ओढाएर सम्मान गर्नुको साथै प्रशंसा पत्र प्रदान गरेको हो ।

कोरोनाको दोस्रो लहरमा चालक गुरूङले जिल्लाभरबाट करिब १ सय बिरामीलाई बेनी अस्पताल र थप उपचारका लागि पोखरासम्म पुर्याएका थिए । शुक्रबार क्लवको पदस्थापना कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष राजेश शाक्य, पूर्वअध्यक्ष लोकेश पुनमगर, निर्वतमान अध्यक्ष खम थापा मगर र क्लवका अध्यक्ष सुर्वण रिजालले सम्मान गदैं आगामी दिनमा समेत सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कोरोना महामारीमा ज्यानलाई जोखिममा राखेर घर परिवार नभनी अग्रपंक्तिमा खटिनुभएका गुरूङले मध्यरातमा पनि धेरै बिरामीलाई घरबाट अस्पतालसम्म पुर्याउनुभएको थियो ।

‘कोरोनाको महामारीमा उहाँले रातभरी पनि काम गर्नुभएको छ,‘बिरामीको उपचारमा खेल्नुभएको भूमिकाको सधै सम्झना हुनेछ’ संस्थापक अध्यक्ष शाक्यले भन्नुभयो । त्यस्तै चालक गुरूङले बिरामीले समयमै उपचार पाए ज्यान जोगिने भन्दै अभियानमा खटिदाँ धेरै बिरामी मृत्युको मुखबाट फर्किएको बताउनुभयो ।

सम्मान पाएकोमा एकदमै खुशी लागेको बताउँदै भविस्यमा पनि सहकार्य गर्ने बताउनुभयो । ‘सम्मानले अझै राम्रो गरौं भन्ने हौसला मिलेको छ, ‘कामप्रति थप जिम्मेवारीवोध गराएको छ, अव पनि अन्य यात्रु भन्दा बिरामीलाई नै प्राथमिकता दिएर सेवामा खटिन्छु’ गुरुङले भन्नुभयो ।

यसैबीच पदस्थापना कार्यक्रमको अवसरमा मोनामार्फत निर्मित पुर्नबास अभियानमा खटिनुभएका मोना हङकङका पूर्व अध्यक्ष दल शेरपुञ्जा, लायन्सको एम्बुलेन्स सेवा ब्यवस्थापनको संंयोजनकर्ता भोजबहादुर रिजाल, पत्रकारद्धय धिनर खत्री र साधन राम्जालीलाई सम्मान गरिएको थियो ।

लायन्स क्लव अफ बेनी पिस सिटीले कोरोनाको अवधिमा एम्बुलेन्स सेवा सञ्चालन गरेको थियो । उक्त सेवा दिर्घरोगी र समस्यामा रहेका विपन्नको सेवामा हालसम्म निरन्तर जारी छ ।

Leave a Reply