नेपाल बाल संगठन म्याग्दीद्धारा सञ्चालित बालगृहमा रहेका बालबालिकाको अनलाइन कक्ष प्रभावकारी बनाउन स्मार्ट फोन हस्तान्तरण गरिएको छ ।

कोरानाको दोस्रो लहरसँगै भौतिक रुपमा विद्यालयमै उपस्थित भएर पढ्न नपाएका बालबालिकाको अनलाइन कक्षा प्रभावकारी बनाउन स्वदेश तथा विदेशमा रहेका म्याग्देलीले स्मार्ट फोन उपलब्ध गराएपछि कक्षा सञ्चालनमा सहज भएको छ ।

शनिबार आयोजित कार्यक्रममा बेनी नगरपालिका–७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बालबालिकालाई सहयोग हस्तान्तरण गर्नुभएको थियो । विभिन्न क्रियाकलापमार्फत कक्षाअनुसारको सिकाइ गरी व्यस्त रहेका बालबालिकाको अनलाइन कक्षालाई थप ब्यवस्थित बनाउन सहयोगले सहज हुने वडा अध्यक्ष श्रेष्ठको भनाई छ ।

सबै विद्यार्थीलाई तत्काल ल्यापटप र कम्प्युटरको ब्यवस्थापन गर्न कठिनाइ भएपछि स्मार्ट फोनबाटै कक्षा सञ्चालनको वातावरण बनाइएको नेपाल बाल संगठन म्याग्दीका अध्यक्ष राजेश शाक्यले बताउनुभयो ।

‘अनलाइन कक्षाको अवधिसम्म मात्रै विद्यार्थीको हातमा मोवाइल हुन्छ,‘अन्य समयमा मोवाईल प्रयोग गर्न दिदैंनौ,‘यो सहयोगले बालबालिकालाई पठनपाठनमा सहज हुन्छ’ अध्यक्ष शाक्यले भन्नुभयो । प्रति सेट १५ हजार ५ सय मुल्य बराबरको स्मार्ट फोन खरिद गरिएको छ ।

बालगृहमा रहेका सबै १२ जना बालबालिकालाई स्मार्ट फोन सहयोग स्वरुप प्राप्त भइसकेको छ । बालगृहमा गुणस्तरीय इन्टरनेटको सुविधा रहेको छ । स्मार्ट फोनको सुविधाले विद्यार्थीहरू समेत उत्साहित भएका छन् । बालगृहमा रहेका बालबालिकालाई शैक्षिक क्षमता बढाउने अभ्यासका लागि थप योजना समेत बनाइएको छ ।

बालगृहमा अध्ययनरत बालबालिकालाई अनलाइन कक्षा बाहेक अतिरिक्त क्रियाकलापका लागि समेत कार्ययोजना बनाइएको सचिव सन्दिप खत्रीले जानकारी दिनुभयो । अनलाइन कक्षामार्फत पठनपाठनका लागि विहान, दिउँसो र बेलुकी कार्यतालिका लागु गरिएको छ । यसैबीच बालगृहको संरचना थपेर हाल रहेको संख्यामा दोब्बर बनाउने गरी कार्ययोजना समेत बनाइएको छ ।

Leave a Reply