उपल्लो मुस्ताङबाट बग्ने विभिन्न नदीको बहाव शनिबार दिउँसो उच्च भएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङले कालिगण्डकी तटीयक्षेत्रका बस्तीहरुलाई उच्चसर्तकता अपनाउदै सुरक्षित रहन आग्रह गरेको छ। प्रहरीले बाढीका कारण विपद्को अवस्था नहोस भन्ने उद्देश्यले यहाका स्थानीय तहलाई समेत सचेत रहन आग्रह गरेको छ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी रामकुमार दानीका अनुसार उपल्लो मुस्ताङको लोमान्थाङ, चराङ, सुर्खाङ, घमी र चैले लगायतका शाखा नदीहरुको बहाव उच्च भएकाले आवश्यक सावधानी अपनाउन स्थानीय तह माफत नागरिकलाई अनुरोध गरिसकेको छ।

‘हामीलाई उपल्लो मुस्ताङका विभिन्न प्रहरी पोस्टबाट खबर आएको छ, शाखा नदी उर्लिदै बगेको भन्ने छ, डीएसपी दानीले भने, ‘बाढी कालिगण्डकीमा एकत्रित भइसक्यो भन्ने छ, रातको समयमा पनि ठूलो बाढी आउन सक्छ।’

कालिगण्डकी नदीको तटीयक्षेत्र अन्तर्गत छुसाङ, कागबेनी, जोमसोम, स्याङ, टुकुचे ,कोवाङ, सौरु, सिर्खुङ, लेते, धम्पु लगायतका दर्जन स्थानका गाउँहरु जोखिमको अवस्था रहेकाले सर्तकता अपनाउ अनुरोध गरिएको छ। यस्तै ,कालिगण्डकी बहाव उच्च भएको अवस्थामा म्याग्दीका विभिन्न स्थान पनि जोखिम बढ्ने अनुमान गरिएको छ।   Source: annapurnapost.com

Leave a Reply