म्याग्दीको रघुगंगा गाउँपालिका-६,पाखापानीका दुई गाउँलाई जोड्न पुल बनेपछि डेढ घण्टा भन्दा बढीको यात्रा १५ मिनेटमा छोटिएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले पाखापानी स्थित घोप्टेखोलामा कोटगाउँलाई जोड्ने गरी २ सय ६५ मिटर लामो पुल निर्माण गरेको हो ।

पुल निर्माणका लागि हिमशिखर ्जयलक्ष्मी जेभि बागलुङसँग भ्याट रकम बाहेक दुई करोड दुईलाख रुपियाँमा २०७६ चैतमा ठेक्का सम्झौता भएको थियो ।

झोलुङ्गे पुल निर्माण भएसँगै दुई गाउँका स्थानीयलाई सहज भएको वडाध्यक्ष मनकुमार शेरपुञ्जाले बताए । ‘पुलले स्थानीयको यात्रा छोटिएको छ, दुई गाउँमा नियमित चहलपहल बढ्ने छ’ अध्यक्ष शेरपुञ्जाले भने ।

उनले विगतमा पुलको अभावमा खोलानाला,भिरपहराबाट यात्रा गर्ने स्थानीयलाई सहज भएको बताए। पुल बनेपछि पाखापानी गाउँमा रहेका विद्यालय,वडा कार्यालय र स्वास्थ्य चौकीमा सेवा लिन कोटगाउँ र रायखोरकावासीहरुलाई पुल बनेपछि सहज भएका कोट गाउँबासीले बताएका छन् ।

करिब दुईघण्टासम्मको पैदलयात्रा अमर माविमा पढ्न आउने कलिला बालबालिकालाई समेत पुलले सहज भएको विद्यालयका प्रधानाध्यापक यूकुमार गर्बुजाले बताए ।

कोरोना महामारीका समयमा पनि निर्माण व्यवसायीले स्वास्थ्य मापदण्ड पालाना गरेर निर्माण कार्यलाई निरन्तरता दिएका कारण एकमहिना अगावै पुल निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख नवराज पौडेलले बताए । निर्माण व्यवसायी र स्थानीयवासीको सक्रियताका कारण पुल सम्झौता अवधि अगावै सम्पन्न गर्न सहज वातावरण बनेको उनको भनाई छ ।

यसैगरी म्याग्दीमा यसवर्ष अन्य तिन स्थानमा पनि झोलुङ्गे पुल निर्माण भएको कार्यालयले जनाएको छ। कार्यालयका इन्जिनियर केशब श्रेष्ठका अनुसार मंगला गाउँपालिकाको सिमलचौर देखि लुलियाघाट जोड्ने गरी म्याग्दी नदीमाथि,अर्मनको खोलाखर्क र रघुगंगाको चिमखोलामा झोलुङ्गे पुल निर्माण भएका छन् ।

आगमी आर्थिक वर्षका लागि ८ वटा झोलुङ्गे पुल निर्माणको चरणमा रहेको इन्जिनियर श्रेष्ठले जानकारी दिए । पुल निर्माण भएपछि करिब २० हजार भन्दा बढी जनसंख्या लाभान्वित हुने कार्यालयले जनाएको छ ।

यो पाखापानी कोटगाउँ जोड्ने पुल पर्यटनका हिसाबले पनि महत्वपूर्ण बन्ने देखिएको छ । लामो दुरिको पुल अवलोकन गर्न पर्यटक आउने सम्भावना छ । यसअघि रघुगंगा गाउँपालिकाको वडा न. १ बेग र बादुक जोड्ने ३६५ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको थियो ।

Leave a Reply