नेपाली काँग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिएसँगै म्याग्दीमा ’साइलेन्स’ (मौन) रुपमा नेतृत्वका लागि चर्चा हुन थालेको छ ।

काँग्रेसको केन्द्रीय समिति बैठकले जिल्ला अधिवेशन साउन २६ गते गर्ने निर्णय गरेसँगै जिल्ला नेतृत्वका आकांक्षीहरु आफ्नो पक्षमा माहोल बनाउन लागिपरेका छन् ।

म्याग्दीमा वडादेखि जिल्लासम्म चुनावी चहलपहल सार्वजनिक नभएपछि आंकाक्षीले आफ्नो पक्षमा भित्रभित्र माहोल बनाउन थालेपछि चुनावी चहलपहलले विस्तारै गति लिन थालेको छ ।

उम्मेदवारका आकांक्षीले आसन्न स्थानीय, प्रदेश र संघीय निर्वाचनमा समेत आफ्नो हैसियतलाई सुरक्षित राख्ने गरी आवश्यक रणनीति बनाउन थालेपछि यसपटकको निर्वाचनलाई निकै महत्वपूर्ण साथ हेरिएको छ ।

जिल्ला नेतृत्वका लागि शेरबहादुर देउवा पक्ष र रामचन्द्र पौडेल पक्षबीच मुख्य प्रतिस्पर्धा हुने देखिएपनि स्थानीय तहमा भने पक्षधर भन्दा त्यहाँको आवश्यकता अनुसारको महोल बनाउन नेताहरू सक्रिय छन् । जिल्ला सभापतिमा सबैभन्दा बढी चासोका साथ हेरिएको छ ।

जिल्ला सभापतिका लागि आधा दर्जनभन्दा बढी आकांक्षी देखिएपनि अधिकांस चर्चाकै लागि मात्रै भएको देखिन्छ । मुख्य गरी जिल्ला सभापति खमबहादुर (खमविर) गर्बुजा दोस्रो कार्यकालका लागि दाबी गर्दैछन् ।

काँग्रेसका पूर्व सभापति रेशम बहादुर बानियाँ, नेत्रबहादुर महत, माधवप्रसाद रेग्मी, सचिव मिनबहादुर कार्की र जिल्ला सदस्य केबी भण्डारी पनि सभापतिका आकांक्षीको चर्चा छ ।

तर, उम्मेदवारले आफ्नो उममेदवारी सार्वजनिक गरेका छैनन् । उनीहरुले सामाजिक सञ्जालमा समेत चर्चा नगरेपनि यसपटक गर्बुजा र बानियाँ अहिलेसम्मका बलिया दाबेदार हुन् ।

पहिलो संविधान सभाको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बनेका पूर्व सभापति समेत रहेका बानियाँ संविधानसभाको २६ जना मनोनित हुने कोटाबाट प्रतिनिधित्व समेत गरिसकेका छन् भने संविधान सभा र प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएर पराजित भएपनि पार्टीको जनमत बढाउन वर्तमान सभापति गर्बुजाको भूमिका समेत उत्तिकै छ ।

पार्टी सभापति गर्बूजाले कम्यूनिष्ट उम्मेदवारलाई टक्कर दिने भएकाले पनि उनले एकपटक मैदान नछोड्ने प्रष्ट पारेका छन् ।

उनी म्याग्दी काँग्रेसको सभापति बनेपछि पार्टीको संगठन मजबुत बन्दै गएको कार्यकर्ताहरुको बुझाइ छ । पार्टीको तर्फबाट दुईपटक निर्वाचनमा सहभागी भई पराजित भएको अवस्थामा एकपटक पुनः प्रत्यक्षतर्फको उम्मेदवार सहित जिल्लाको नेतृत्व समेत वर्तमान सभापति गर्बुजालाई नै दिनुपर्ने बहस गरेका छन् ।

अर्का आकांक्षी रेशमबहादुर बाँनिया म्याग्दी काँग्रेसको पूर्व सभापति हुन् । उनी पनि म्याग्दीमा लोकप्रिय नेताका रुपमा चिनिन्छन् । उनी पौडेल पक्षका नेता मानिन्छन् । त्यसैगरी पूर्वसभापति नेत्रबहादुर महत देउवा समूहमा छन् ।

माधव रेग्मी र मिनबहादुर कार्की कुन समूहमा लाग्ने भन्ने खुलेको छैन । अर्का आकांक्षी केबी भण्डारी शेखर कोइराला निकटका नेता मानिन्छन् । उनी यसअघि जिल्ला सदस्य बनेका थिए । भण्डारी कार्यकर्ताको समस्या र आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्ने नेताको रुपमा चिनिन्छन् । कांग्रेसको आन्तरिक अधिवेशनले आगामी निर्वाचनमा समेत उम्मेदवार सहितको बहसलाई केन्द्रित गरेको छ ।

यसैबीच जिल्ला पदाधिकारीमा यूवाहरु नै आउने सम्भावना धेरै छ । उपसभापति, सचिव, कोषाध्यक्ष सहितका पदमा यसपटक यूवाहरु चुनावी मैदानमा उत्रिएमा कार्यकर्ताको रोजाईमा पर्ने देखिन्छ ।

Leave a Reply