मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटस्थित नयाँपुलको पहिरो नेपाली सेनाले हटाउने भएको छ। गत बिहीबार आएको पहिरोसँगै ठूला ढुङ्गा खसेर कुश्मा–बागलुङ सडक अवरुद्ध भएको हो।

मध्यपहाडी सडकको काम गरिरहेको लामा कन्स्ट्रक्सनले एक्स्काभेटरको सहयोगमा पहिरो पन्छाउन निरन्तर प्रयास गरे पनि ठूला आकारका ढुङ्गा पन्छाउन नसकेपछि नेपाली सेनाले विस्फोटक पदार्थको प्रयोग गरेर आइतबार पहिरो पन्छाउने तयारी गरिरहेको छ। नेपाली सेनाको केवलजंग गुल्म पर्वतका सहसेनानी प्रवीण धितालका अनुसार पहिरोमा आएका ढुङ्गा फुटाउनका लागि प्रयोग हुने विस्फोटक पदार्थ पर्वतमा नभएका कारण छिमेकी जिल्ला म्याग्दीबाट ल्याएर पहिरो पन्छाउने तयारी भइरहेको छ।

‘अहिले वर्षा भइरहेको छ। ठूलो वर्षा भयो भने त पहिरो स्थलमा काम गर्न कठिन हुन सक्छ, तर सिमसिम पानी परिरहेको बेलामा केही फरक पर्दैन,’ उनले भने, ‘पर्वतमा विस्फोटक पदार्थ नभएका कारण म्याग्दीबाट ल्याउने तयारी गरिरहेका छौँ। विस्फोटक पदार्थ आएपछि त खुलाउन खासै धेरै लामो समय लाग्दैन।’

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब निरीक्षक कृष्णबहादुर खड्काका अनुसार पहिरो शुक्रवारदेखि पहिरो पन्छाउने प्रयास भएको थियो। त्यसका लागि दुईवटा डोजर प्रयोग गरिएको भए पनि ब्रेकर लगाउँदा समेत ढुङ्गा फुटाउन कठिन भएको थियो। डोजरले नसकेपछि शनिवार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकबाट विस्फोट गरेर सडक खुलाउने र त्यो काम नेपाली सेनाले गर्ने भन्ने निर्णय भएको केवलजंग गुल्मका सेनानी रमेश थापाले बताए।

सडक अवरुद्ध हुँदा ठूला सवारी साधन बाटोमै अलपत्र परेका छन् भने साना सवारी साधन भने बैकल्पिक मार्गका रूपमा अर्मादी–बगैँचा चोक–पाङ–सहस्रधाराको कच्ची र साँघुरो सडक प्रयोग गरिरहेका छन्। गाउँको साँघुरो बाटोमा सवारीको चाप बढेपछि सवारी जामको समस्या बढेको छ।

लोकमार्गमा गुड्ने सबै सवारीहरू अर्मादी–बगैँचा चोक–पाङ हुँदै सहस्रधारा झरेर बागलुङ र म्याग्दी आउजाउ गरिरहेका कारण फाटफुट सवारी देखिने खुर्कोट र पाङ गाउँमा दैनिक जसो सवारी जाम हुने गरेको हो।लोकमार्गको अर्मादीदेखि सहस्रधाराको खण्ड करिब डेढ किलोमिटर लम्बाइको छ। तर अहिले सवारीहरू गुडिरहेको अर्मादी–बगैँचा चोक–पाङ–सहस्रधारा खण्ड कम्तीमा पनि सात किलोमिटर छ।

Leave a Reply