आवश्यक स्रोतसाधनको अभावका बावजुत पनि म्याग्दीमा धेरै सुत्केरी तथा गर्भवती महिलाका मृत्युको मुखबाट जोगाउन दुर्लभ मानिएका शल्यक्रिया सहित गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सफल बेनी अस्पतालका एक चिकित्कलाई विदाई गरिएको छ । करिब ४ बर्ष बेनी अस्पताल कार्यरत क्लिनीकल कोअर्डिनेटर डा. नवराज बस्ताकोटीले निक साईमन इन्सिच्युट अमेरिकाबाट तोकिएको सेवा अवधि पूरा गरी फर्किने बेलामा विभिन्न संघसंस्था र ब्यक्तिले भब्य विदाई गरेका हुन्।

गर्भवती महिलाका लागि काल जस्तै पाठेघर बाहिर बसेको बच्चा (इक्टोपिक÷ट्युबल प्रेग्नेन्सी) को सफल उपचारसँगै एपेन्डिस फुटेको,पाठेघरको टुयूमर, फोक्सोमा समस्या, पिसालको थैलीमा ढुंगा,हड्डी, नसा चुडिएका, हर्निया, हाईड्रोसिल लगाएतका बिरामीको उपचारमा डा. बस्ताकोटीको भूमिका सबै सम्झिने बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए । ‘उहाँलाई बेनी अस्पतालले सधै सम्झिने छ, साथै भविस्यमा स्वास्थ्य क्षेत्रमा पनि निरन्तर सहकार्यको वातावरण बन्ने छ’ अध्यक्ष कटुवालले भने ।

बेनी अस्पतालमा निक साइमनले सेवा विस्तार गरेपछि गर्भवती, सुत्केरी सहित जटिल समस्या भएका धेरै बिरामीले सेवा पाएको बताउँदै हाल अस्पतालभित्रै जटिल किसिमका उपचार गर्न सक्ने चिकित्सक रहेको अध्यक्ष कटुवालको भनाई छ ।

अस्पतालमा सञ्चालित अप्रेसन सहितको प्रसुती सेवामार्फत दुर्गम क्षेत्रमा महिला, बालबालिकाको उपचारका साथै जटिल अवस्थाका विरामीको सेवामा दिनरात खटिएर लोकप्रियता कमाएका डा. बस्ताकोटी कोरोना रोकथाम तथा नियन्त्रण अभियानमा फ्रन्टलाइनमा खटिएर सेवा दिएका थिए । कोरोना रोकथाममा डा. बस्ताकोटीले विभिन्न सचेतनामुलक अभियानमा समेत सक्रियतापूर्वक सहभागिता जनाएका थिए ।

म्याग्दी जिल्लाको इतिहासमा धेरै डाक्टरहरू जिल्लामा सेवा दिएर फर्किएपनि डा.बस्ताकोटीले म्याग्देलीको मायाँ र साथलाई सधै सम्झिने र भविस्यमा पनि निरन्तर साथमै हुने बताए । उनले रोग लुकाएर बसेका धेरै विरामीको उपचार गर्दा आफ्नो जिम्मेबारी पुरा भएको अनुभुति भएको बताए । उनले जिल्लाबासीको सहयोगले आफुँलाई काम गर्न सहज भएको बताए ।जटिल शल्यक्रियापछि बिरामी समेत खुसी हुदै भेट्न आउँदा निकै उत्साहित भएको डा. बस्ताकोटीको भनाई छ ।

जिल्लाबाहिर भएपनि समय समयमा प्राविधिक सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । हाल रहेको सेवालाई थप प्रभावकारी बनाउन निक साईमनबाट अनुभवी चिकित्सक जिल्लामा आएको बताउँदै डा.मल्लले विगतमा कार्यरत जिल्लाको तुलनामा म्याग्दीमा सहज भएको बताए । हाल बेनी अस्पतालमा पाटन स्वास्थ्य प्रतिष्ठानबाट विशेषज्ञ चिकित्सक सहितको टोली सहित अनुभवी चिकित्सकहरु समेत रहेकाले चिकित्सा क्षेत्रमै दुर्लभ मानिएका अप्रेसन सहितको सेवा समेत अस्पतालबाटै उपलब्ध रहेको छ ।

Leave a Reply